संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएन

१ असार २०८२, आईतवार १४:१९

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गर्दै निजामती कर्मचारीसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची परिवर्तन गरेका हुन् ।

अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तव पेस गरिरहेका छन् । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ । नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गरिरहेका छन् ।

जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो । आजको बैठकको अन्तिम समयमा पेस गर्ने गरी सारिएको सभामुखको सचिवालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*