अवकाश कोष अनिवार्य रूपमा सरकारी कोषमा जोडिनु उपयुक्त छैन, ऐच्छिक बनाऔँ: डा. महत

१ असार २०८२, आईतवार १४:५२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले बैंक तथा वित्तीय संस्थामा सञ्चालित अवकाश कोषलाई अनिवार्य रूपमा सरकारी कोषमा सार्न हतार नगर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. महतले स्वतन्त्र रूपमा सञ्चालित अवकाश कोषलाई सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष वा अन्य सरकारी कोषमा अनिवार्य रूपमा जडान गर्नुपर्ने प्रस्तावप्रति असहमति जनाउँदै त्यसलाई ऐच्छिक बनाइनुपर्ने धारणा राखे ।

‘बैंक तथा वित्तीय संस्थाहरूमा आफ्नै तरिकाले अवकाश कोष बनाएका छन् । ती कोषहरूबाट लगानी पनि भइरहेको छ । यस्तो अवस्थामा ती कोषहरू विघटन गरेर अनिवार्य रूपमा सरकारी कोषमा समाहित गर्नु उपयुक्त हुँदैन’  उनले भने, ‘यो विषयमा बाध्यकारी हैन, ऐच्छिक बनाऔँ ।’

पूर्वअर्थमन्त्री महतले शिक्षाको सन्दर्भमा पनि महत्वपूर्ण धारणा राख्दै विद्यार्थी घटिरहेको अवस्थामा नजिकका सरकारी विद्यालय गाभ्नुपर्ने प्रस्ताव अघि सारे । उनले अब स्कुल मर्ज (गाभ्ने) विकल्पभन्दा बाहिर नजान सकिने स्पष्ट पारे ।

‘विद्यार्थी कम हुँदै गएका छन् । एउटै क्षेत्रमा धेरै स्कुल चलाउनुभन्दा नजिकका स्कुललाई गाभ्ने नीति आवश्यक छ’ उनले भने, ‘स्कुल गाभेपछि सरकारले विद्यार्थीका लागि खान र बस्ने व्यवस्था (होस्टेल) गर्नुपर्छ ।’

त्यस्तै उनले अघिल्लो कार्यकालमा बनाएको तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजनामा बजेट नहाल्ने कार्यविधिलाई कार्यान्वयनमा ल्याउने प्रयासप्रति धन्यवाद दिंदै स्रोत सुनिश्चित नभएका चार हजारभन्दा बढी आयोजना हटाइनु सकारात्मक भएको बताए ।

महतले बजेट खर्च परिमाणमुखी आयोजनामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै राजस्व लक्ष्य घटाइएकाले त्यसलाई प्राप्त गर्न सरकारलाई व्यापक गृहकार्य गर्नुपर्ने उल्लेख गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*