पुँजी बजारमा सुधारः कारोबार समेत उच्च, के अब लयमा फर्किने संकेत हो ?

१ असार २०८२, आईतवार १५:०९

काठमाडौं । बजारमा सुधार देखिएको छ । निरन्तर दुई दिन घटेको बजार आज भने बढ्न पुगेको हो । लामो समयदेखि ओरालो लागेको नेप्से सूचक यतिबेला विस्तारै स्थिर हुँदै सकारात्मक संकेत देखिन थालेको छ ।

बजारमा क्रेता र बिक्रेताको सक्रियता बढ्दै गएको छ । हाइड्रोपावर र होटेल तथा पर्यटन समूहमा पर्ने कम्पनीहरुको कारोबारमा उल्लेख्य सुधार देखिन थालेको छ । लो क्याप कम्पनीबाट मिड र लार्ज क्याप कम्पनीतिर लगानीकर्ताको ध्यान केन्द्रित हुन थालेको छ ।

नयाँ लगानीकर्ताको प्रवेशसँगै पुराना लगानीकर्ताको मनोबल पनि बिस्तारै बढ्दै गएको ब्रोकरहरू बताउँछन् । केन्द्रीय बैंकले ठूला कर्जाका लागि सहज नीति ल्याएको, ५० लाख रुपैयाँभन्दा माथिका कर्जामा जोखिम भार घटाएको तथा आगामी मौद्रिक नीति अझै लगानीमैत्री हुने संकेतले सेयर बजारमा सकारात्मक मनोवृत्ति फैलिएको छ । सरकार र नियामक निकायको भूमिकाले पनि बजार सुधारतर्फ अग्रसर भइरहेको संकेत देखिएको छ ।

नेप्से सूचकले वर्षौं लामो बियरिस ट्रेन्ड पार गरिसकेको अवस्थामा अब ट्रेन्ड परिवर्तन हुने आशा गरिएको छ । सूचीकृत कम्पनीहरूको मुनाफा बढ्न थालेको, अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सुदृढ बन्दै गएको र अन्तर्राष्ट्रिय संस्थाहरूले आर्थिक वृद्धिमा सुधारको अनुमान गरेको पृष्ठभूमिमा बजारमा सकारात्मक माहोल निर्माण भइरहेको छ । बाँकी रहेको केही नीतिगत अवरोधहरु समेत हट्ने अपेक्षासहित लगानीकर्ताले आगामी दिनमा थप सुधारको आशा लिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१३ अकंले बढेर २६५७.५२ बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ६ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंकको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशत, हाइड्रोपावर समूहको १.१३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*