बैंकिङ क्षेत्रको सुधारमा ऐतिहासिक कदम: राष्ट्र बैंकको पहलप्रति सिबिफिनको स्वागत

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या र चुनौतीहरूको पहिचान गरी ठोस समाधानसहित सुझाव पेश गर्न गठित सुझाव समितिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ। नेपालको बैंकिङ इतिहासमा पहिलोपटक सुधारमा केन्द्रित रही राष्ट्रियस्तरमा उपसमिति गठन हुनु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष छ।
गभर्नरको पहलमा सरोकारवालाहरूसँग सघन छलफल र संवाद गर्दै समस्याको चुरोमा पुग्ने प्रयत्नस्वरूप राष्ट्र बैंकले थालेको स्थलगत भ्रमण, व्यवस्थापन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने काम, विगतका नीतिहरूको समीक्षा र वर्तमान आवश्यकतालाई सम्बोधन गर्ने मौद्रिक नीतिका प्रयासहरूलाई सिबिफिनले अत्यन्तै सकारात्मक रूपमा लिएको छ। यस्तो सुधारमुखी सोच र रणनीतिले मुलुकलाई आर्थिक तथा बैंकिङ क्षेत्रमा दिगो विकासको युगमा प्रवेश गराउने सिबिफिनको विश्वास छ।
उक्त सुझाव उपसमितिमा केन्द्रीय बैंकबाहेक निजी क्षेत्रको अनुभवसमेत बोकेका प्रतिष्ठित विषयविज्ञहरू सहभागी गराइनु सकारात्मक पक्ष हो। सिबिफिनको भनाइमा यस्ता विज्ञहरूको सहभागीता अर्थतन्त्र तथा बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या र चुनौतीहरूको पहिचानमा मद्दत पुग्नेछ। सरोकारवालासँगको प्रत्यक्ष छलफलका आधारमा उपसमितिबाट नियामकीय सुधार र प्रणालीगत परिवर्तनका लागि ठोस सुझाव आउने र नीति निर्माणमा मार्गदर्शन हुने विश्वास सिबिफिनले लिएको छ।
सिबिफिनले उपसमितिको हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियामा सक्रिय सहभागी हुने, तर्कपूर्ण सुझाव प्रस्तुत गर्ने, समन्वय र सहजीकरणमा भूमिका खेल्ने र राष्ट्र बैंकले लिएका दीर्घकालीन योजना तथा नीतिहरूको कार्यान्वयनमा अभिन्न सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरेको छ।












