अन्तर्राष्ट्रिय कानुनविपरित प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न मानव अधिकार आयोगको चेतावनी

१ असार २०८२, आईतवार १६:३३

काठमाडौं । पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि पछिल्लो समय धरपकड, धम्की र दुर्व्यवहारका घटना बढ्दै गएका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत विचार तथा सूचना सम्प्रेषण गरेको भन्दै पत्रकारहरूलाई धम्की दिइनुका साथै पक्राउ पुर्जीसमेत जारी गरिएकोप्रति आयोगले चिन्ता व्यक्त गरेको हो ।

आयोगले पछिल्लो घटनाक्रम तथा प्राप्त सूचनालाई नजिकबाट अनुगमन गरिरहेको जानकारी दिँदै यस्ता गतिविधि प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकजस्ता संवैधानिक तथा मानव अधिकार सम्बन्धी कानुनी प्रावधानको उल्लङ्घन भएको ठहर गरेको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा १९ मा व्यक्तिको स्वतन्त्र अभिव्यक्तिको हक सुनिश्चित गरिएको उल्लेख गर्दै आयोगले नेपालको संविधानले पनि विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक, र प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराएको छ ।

आयोगका अनुसार यस्तो अवस्थाले लोकतान्त्रिक मूल्य मान्यता र नागरिक स्वतन्त्रतामा प्रत्यक्ष प्रहार गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भए तापनि सरकारी तहमै रहेका जिम्मेवार अधिकारीहरूमार्फत यस्ता गतिविधि हुनु चिन्ताजनक रहेको आयोगको ठहर छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता तथा सूचनाको हकको पूर्ण संरक्षणका लागि पत्रकार, सञ्चार संस्था तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथिको धम्की, दुर्व्यवहारजस्ता कार्य तुरुन्त रोक्न र यस्ता घटना नदोहोरिने वातावरण तयार गर्न आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

साथै, पत्रकारिताको आचारसंहिता र व्यावसायिक मर्यादाको सीमाभित्र रहेर सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमार्फत आमसञ्चार क्षेत्रको गरिमा कायम राख्न आयोगले सम्पूर्ण पत्रकार तथा सञ्चार संस्थाहरुलाई आग्रहसमेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*