राष्ट्र बैंकद्वारा नयाँ १० रुपैयाँ दरका नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ बैंक नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार असार २ गतेदेखि नयाँ नोट बजारमा ल्याइनेछ । नयाँ नोट साविककै आकार र रङ्गमा रहनेछ ।
राष्ट्र बैंकले जनाएअनुसार संकेत नम्बर द/३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा ल्याइनेछन् । यी नोटमा “नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्य उल्लेख गरिएको छ ।
नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । त्यस्तै, तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपाली भाषामा “वि.सं. २०८१” लेखिएको छ ।
नोटको पछाडिको भागमा भने माथिल्लो भागमा अंग्रेजीमा ‘Nepal Rastra Bank’ लेखिएको छ भने बीचमा कृष्णसारको चित्र राखिएको छ । तल्लो भागको किनारमा ‘Rupees Ten’ लेखिएको छ र सिरिज नम्बर अंग्रेजीमा ‘2024 A.D.’ उल्लेख गरिएको छ ।
यसअघि राष्ट्र बैंकले वि.सं. २०७७ मंसिर १० गतेका दिन १० रुपैयाँ दरको नोट (सेरिज २०२०) संकेत नं. ढ/८२ ०००००१ देखि द/४५ ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरेको थियो । तर, त्यसबमोजिम ढ/८२ ०००००१ देखि द/३१ ८००००० सम्म मात्र नोटहरू प्रचलनमा ल्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।












