अर्धवैसेलाई वृद्धभत्ता र विवाहितलाई एकल भत्ता खुवाउने तत्कालीन गाविस अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेको आरोपमा बाँकेको तत्कालीन नरैनापुर गाविसका अध्यक्ष अजय कुमार श्रीवास्तव सहित १७ जना विरुद्ध मुद्दा चलाएको छ।
बाँकेमा सुरक्षा भत्ता बाँड्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी भत्तामा भ्रष्टाचार गरेको उजूरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।
अनुसन्धानमा आव ०५७/५८ देखि ०७२/७३ सम्म बाँडेको वृद्धा भत्ता लिनेमध्ये १९ जनाको उमेर नै नपुगेको खुलेको छ। अझ कतिसम्म भने वृद्ध भत्ता लिएका ती १९ जनाको नागिरकतामा उल्लेखित उमेर अनुसार नै जेष्ठ नागरिक होइन भन्ने थाहा हुँदाहुँदै पनि वृद्ध भत्ता बाँडेको पाइएको छ।
त्यस्तै नागरिकता नै नभएको र भारतमा विवाह गरेर गइसकेको महिलालाई समेत एकल महिलाको भत्ता खुवाएको अनुसन्धानमा खुलेको छ।
यसमा तत्कालीन सचिव र अध्यक्षले नै सेटिङमा सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र बनाइदिएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ।
यसरी भत्ता पाउने अधिकार नै नभएको व्यक्तिलाई भत्ता बाँडेर ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको देखिएपछि अख्तियारले मुद्दा चलाएको हो।
SyO5GZ












