पुँजी बजारमा झिनो सुधारः कारोबारमा उछाल, फाइनान्सका लगानीकर्ता डुबे

२ असार २०८२, सोमबार १५:०७

काठमाडौं । शेयर बजारमा सुधारले निरन्तरता पाएको छ । बजारमा झिनो सुधार देखिएको हो । असार महिनामा पनि बैंकहरूले ब्याजदर घटाउने प्रवृत्तिलाई निरन्तरता दिएका छन् । कतिपयले जेठकै दरलाई कायम राखे पनि कुनै पनि बैंकले ब्याजदर वृद्धि गरेका छैनन् । वित्तीय प्रणालीमा तरलता अझै प्रशस्त रहेको र कर्जा प्रवाह सुस्तै रहेको पृष्ठभूमिमा बैंकहरू ब्याज घटाउने रणनीतिमा देखिएका छन् । यस्तो अवस्थामा खासगरी शेयर धितो कर्जातर्फ माग बढेको देखिएको छ भने अन्य क्षेत्रका कर्जातर्फ खासै आकर्षण छैन ।

शेयर बजारमा कर्जाको मागमा उत्साहजनक वृद्धि देखिँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार समग्र सेयर धितो कर्जा ३९ प्रतिशतले बढिसकेको छ । अहिले ठूला कर्जामा जोखिमभार घटाइएको तथा ५० लाखभन्दा माथिका सेयर कर्जामा पनि अब १०० प्रतिशत मात्र जोखिमभार लाग्ने भएपछि ठूला लगानीकर्ता कर्जा लिएर सेयर बजारमा सक्रिय बन्दै गएका छन् । सिजनको रूपमा लिइने असार–साउनको अवधिमा वित्तीय विवरण र लाभांश घोषणाको समयसमेत पर्ने भएकाले सेयर बजारले थप गति लिन सक्ने विश्लेषण गरिएको छ ।

नेप्से सूचक हाल साइडवेज ट्रेन्डमै देखिए पनि कारोबार रकम बढ्दै गएको, मिड तथा हाइ क्याप कम्पनीतर्फ लगानीकर्ताको ध्यान सर्न थालेको र नाफा कमाउने कम्पनीहरूप्रति आकर्षण बढ्न थालेको संकेत देखिएको छ ।

आगामी मौद्रिक नीति लगानीमैत्री हुने गभर्नरको पूर्वसंकेत, सरकार तथा नियामक निकायको सकारात्मक भूमिका र आन्तरिक अर्थतन्त्रका सूचकहरू सबल बन्दै जान थालेको सन्दर्भले बजारमा बिस्तारै माहोल बनिरहेको छ । यसले लामो समयदेखि दबाबमा रहेको बजारले अब बिस्तारै ट्रेन्ड परिवर्तन गर्दै गति लिन सक्ने आधार तयार गरेको देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४० अकंले बढेर २६५९.२६ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ३ करोड ३६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ७ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आज सर्वाधिक घट्नेमा फाइनान्स समूहको १.२६ प्रतिशत रहेको छ ।

सोमबार १२४ कम्पनीको मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*