मेयर हर्क साम्पाङद्वारा श्रमदानलाई निरुत्साहित नगर्न चेतावनी

३ असार २०८२, मंगलवार ११:११

काठमाडौँ ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानलाई निरुत्साहित गर्ने र बदनाम गर्ने प्रयास रोक्न सबैलाई कडा चेतावनी दिएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले श्रमदान कुनै राजनीतिक स्वार्थ वा लाभको लागि नभई जनताको साझा हित र विकासका लागि गरिएको बताएका छन्। ‘जनताले आफैं श्रमदान गरेर बनाएको संरचना र मेहनतको अपमान गर्ने हो भने त्यो जनताको आत्मसम्मानमा आघात पुग्नेछ’ साम्पाङले स्पष्ट पारे।

मेयर साम्पाङले धरान वडा नम्बर १६ मा निर्माणाधीन बहुभाषिक पाठशालामा गरिएको श्रमदानलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको आरोप लगाए। उनका अनुसार जनताको श्रमबाट ग्याब्लिन बनाइएको थियो भने उपभोक्ता समितिको तर्फबाट सात लाख रुपैयाँमै काम सम्पन्न भएको हो। उनले भने, ‘काम नगरेका मानिसलाई उपभोक्ता समितिमा राखेर घरमै बस्ने मान्छेलाई अध्यक्ष बनाउनुको औचित्य छैन।’

समितिको अनुगमनका लागि आवश्यक प्रक्रिया पूरा भए तापनि उपमेयर अइन्द्र विक्रम बेघाले कर्मचारीलाई धम्क्याएर अनुगमन प्रक्रिया अवरुद्ध गरेको साम्पाङको आरोप छ। उनले भने, ‘माथिबाट दबाब सिर्जना गरेर अनुगमन रोक्ने र त्यसको दोष जनताको श्रमदानमाथि थोपर्न खोज्ने प्रयास अत्यन्त दुर्भाग्यपूर्ण छ।’ साथै, उपमेयरले फाइल लुकाएर प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप पनि साम्पाङले लगाएका छन्।

प्रमुख साम्पाङका अनुसार, श्रमदान कुनै पनि वडाको मात्रै नभई सम्पूर्ण नगरवासीको साझा अभियान हो। ‘खोला कुनै एक वडाको हैन, सबैको साझा सम्पत्ति हो उनले भने। उनले उपभोक्ता समितिमा काम गर्ने इच्छाशक्ति र क्षमता भएका व्यक्तिहरूलाई सहभागी गराउनु उचित भएको बताए। समितिमा सहभागी व्यक्तिहरूको चयन आफैंले नभई काम गर्ने जनताले गरेको उनले दाबी गरे।

श्रमदान अभियानलाई लिएर उठेका विवादको विषयलाई अनावश्यक राजनीतिकरण नगर्न समेत साम्पाङले चेतावनी दिए। ‘कसैले जनताको श्रम, पसिना र योगदानमाथि आरोप प्रत्यारोप गरिरहे यसले जनआक्रोश निम्त्याउनेछ’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*