तेल बजारमा फेरि हलचल : इजरायल-इरानको युद्धबाट विश्व बजार प्रभावित, नेपालमा के पर्छ असर ?

३ असार २०८२, मंगलवार १२:३४

काठमाडौँ ।  इजरायलको आक्रमणपछि इरानले दिएको कडा प्रत्युत्तरले विश्वव्यापी वित्तीय बजारमा एकाएक अस्थिरता निम्त्याएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्ररुपमा बढ्दै गएका बेला दुवै मुलुकबीच सप्ताहन्तभर चलेको मिसाइल र ड्रोन आक्रमणपछि भने तेलको मूल्य केही घटेको देखिएको छ। तर पनि तेलको मूल्य गत महिनाको तुलनामा अझै १० डलरले माथि छ र यसले विश्वभर पेट्रोल, खाद्यान्नदेखि घुमघामसम्मका विभिन्न वस्तु तथा सेवाहरु महँगो हुने चिन्ता बढाएको छ। तीन वर्षअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि जस्तै हाल पुनः ऊर्जा मूल्य वृद्धि हुने संकेत देखिएको छ जसले विश्व अर्थतन्त्रमा असर गर्ने देखिएको हो ।

इजरायल-इरानको तनाव सुरु भएपछि बजारमा तत्काल प्रतिक्रिया रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने मुख्य मापन ब्रेन्ट क्रुडको मूल्य  ७८ डलर प्रतिव्यारेल पुगेको थियो। त्यसयता यो घटेर करिब ७४.५० डलरमा झरेको छ। तथापि, यो अझै पनि एक महिनाअघि भन्दा करिब १० डलरले महँगो छ। यद्यपि यो मूल्य एक वर्षअघिको भन्दा धेरै तल छ र सन् २०२२ मा रुस-युक्रेन युद्ध सुरु हुँदा देखिएको करिब १३० डलर प्रतिव्यारेलको उच्चतम बिन्दु भन्दा निकै तल छ।

कच्चा तेलको मूल्य बढ्दा पेट्रोलियम पदार्थको मूल्यमा प्रत्यक्ष असर पर्छ। तर ऊर्जा महँगो हुँदा त्यसले कृषिदेखि उत्पादन उद्योगसम्मका सबै क्षेत्रमा प्रभाव पार्छ। कृषिमा मेसिन चलाउन, बाली प्रशोधन गर्न, खाद्य वस्तु प्याक गर्न र ढुवानी गर्न लाग्ने लागत बढ्छ जसले अन्ततः उपभोक्तालाई महँगो पर्न सक्छ। यद्यपि, यस्तो असर तत्काल हुने भन्दा पनि दीर्घकालीन रूपमा ऊर्जा मूल्य लामो समय उच्च रहे मात्र देखिन्छ।

क्यापिटल इकोनोमिक्सका डेविड अक्स्लीका अनुसार कच्चा तेलको मूल्य १० डलरले बढ्दा पेट्रोल पम्पमा करिब ७ पेंस प्रतिलिटर मूल्य बढ्ने अनुमान गर्न सकिन्छ। तर यो केवल तेलको कुरा मात्र होइन। सन् २०२२ मा युक्रेन युद्ध सुरु हुँदा ग्यासको मूल्यमा भएको उकालोले झन् ठूलो असर पारेको थियो। ग्यासको मूल्य हाल पुनः बढिरहेको छ। तर ब्रिटेनजस्ता देशमा मूल्य नियन्त्रण गर्ने निकाय र बजार संरचनाका कारण यसको असर उपभोक्तामा ढिलो देखिन सक्छ।

हालको इजरायल-इरान द्वन्द्वको गहिराइ र यसको दीर्घकालीन असर अझै अनिश्चित छ। ऊर्जा परामर्श संस्था इनर्जी एस्पेक्ट्सका प्रमुख राजनीतिक विश्लेषक रिचर्ड ब्रान्जका अनुसार यो अवस्था गम्भीर छ तर यो युक्रेन युद्ध जस्तो ठुलो असर पार्ने अवस्था अझ नभएको पनि हुन सक्छ। मुख्य प्रश्न यो हो कि यो द्वन्द्व कति लामो समयसम्म तानिन्छ, अरु क्षेत्रीय मुलुकहरु यसमा तानिन्छन् कि तानिँदैनन् र अमेरिका लगायत शक्तिशाली देशहरु यसलाई कसरी नियन्त्रण गर्छन् भन्नेमा निर्भर छ।

विशेषगरी इरानको दक्षिणी किनारमा रहेको होरमुज जलडमरूमध्यमा यदि शिपिङ्ग अवरुद्ध भयो भने विश्वव्यापी तेल बजारमा ठूलो संकट आउने खतरा हुन्छ। विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै निर्यात हुन्छ। यद्यपि अहिलेका लागि यस्तो संकटको सम्भावना न्यून भए तापनि जोखिम भने बढेको विश्लेषकहरु बताउँछन्।

यदि होरमुज जलडमरूमध्य खुला रह्यो भने तेलको मूल्य लामो समय उच्च रहने सम्भावना कम छ। सन् २०२२ मा विश्वव्यापी आर्थिक गतिविधि कोभिडपछि बढ्दा तेलको माग बढेको थियो। तर अहिले विश्व अर्थतन्त्र अपेक्षाकृत कमजोर अवस्थामा छ र साउदी अरेबिया, ब्राजिल लगायत उत्पादक देशहरुसँग उत्पादन बढाउने क्षमता छ जसले मूल्य घटाउन सहयोग गर्न सक्छ।

संसारभरका लागि ऊर्जा मूल्यको बढोत्तरी असहज समयमा थप नकारात्मक असर ल्याउने चेतावनी अर्थशास्त्रीहरुले दिइरहेका छन्। एलिआन्जका प्रमुख आर्थिक सल्लाहकार मोहम्मद एल-एरियानका अनुसार, यो छोटो र दीर्घ दुवै अवधिका लागि विश्वव्यापी आर्थिक स्थिरतामा थप धक्का हुन सक्छ। यदि तेलको मूल्य १०० डलर भन्दा माथि पुग्यो भने यो विकसित अर्थतन्त्रमा मुद्रास्फीतिमा १ प्रतिशतले थप वृद्धि गराउन सक्ने अनुमान गरिएको छ जसले ब्याजदर घटाउने प्रयासमा रहेका केन्द्रीय बैंकहरुलाई थप समस्या दिनेछ।

नेपालजस्तो आयातमा निर्भर देशका लागि यस्तो अवस्था झन् गम्भीर हुन सक्छ। नेपालले अधिकांश पेट्रोलियम पदार्थ आयात गर्छ। अन्तर्राष्ट्रिय बजारमा तेल महँगो हुँदा नेपालमा पेट्रोलियम पदार्थ, ग्यास, सिमेन्ट, स्टील, यातायात, उद्योग, कृषिमा उत्पादन लागत बढ्छ। यसको सिधा असर उपभोक्ता मूल्यमा देखिन्छ। खाद्यान्न, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु महँगो हुँदा आम नागरिकको खर्च बढ्छ। अहिलेको आर्थिक मन्दी, बेरोजगारी र विदेशी रोजगारीबाट आउने रेमिट्यान्समा देखिएको दबाबका बीच यस्तो ऊर्जा मूल्यवृद्धिले नेपालको आर्थिक पुनरुत्थान थप चुनौतीपूर्ण बनाउन सक्छ।

एजेन्सिको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*