बैंकहरुले ग्राहक ठग्न खोजे तुरुन्त कारबाही हुन्छः गभर्नर पौडेल

३ असार २०८२, मंगलवार १३:५४

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्। जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसँग सोमबार सम्पन्न छलफलका क्रममा गभर्नर पौडेलले बैंकहरु ग्राहकलाई समस्यामा पार्ने, विभिन्न बहानामा ठगी गर्ने वा जटिल प्रक्रियामा फसाउने काम गरे कडा कारबाही गरिने स्पष्ट पारे।

धनुषाका व्यापारीहरुले बैंकले धितो राखेर ऋण लिएका ऋणीहरुलाई विभिन्न जटिल परिस्थिति सिर्जना गरी धितो निलाम गर्ने गरेको गुनासो राखेपछि गभर्नरले यस्तो चेतावनी दिएका हुन्। साना व्यापारी र किसानहरु कम रकमको ऋण लिन जाँदा समेत बैंकले बेवास्ता गर्ने गरेको व्यापारीहरुको गुनासो सुनाउँदै गभर्नर पौडेलले बैंकहरुलाई सबै ग्राहकसँग सम्मानपूर्वक व्यवहार गर्न निर्देशन दिए।

ग्रामिण भेगका किसान तथा अशिक्षित ग्राहकहरुलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै गभर्नर पौडेलले बैंकमा दोभाषे व्यवस्थापनको व्यवस्था गर्नुपर्ने बताए। उनले बैंकहरुलाई जोसुकै ऋण लिन आउने ग्राहकप्रति सकारात्मक र सहयोगी दृष्टिकोण अपनाउन निर्देशन दिए।

छलफलमा मिटरब्याजको समस्या समाधान गर्न सरकारले चालेका कदमहरु सराहनीय भए पनि ग्रामीण क्षेत्रमा विवाह, भोज भतेर जस्ता सामाजिक कार्यका लागि ऋण लिन अझै पनि कठिनाइ भएको निष्कर्ष समेत निकालिएको थियो। गभर्नर पौडेलले यस्तो समस्याको समाधानका लागि सरकारले थप नीति निर्माण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

यता बैंकका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण तिर्न नसक्ने ग्राहकको संख्या बढ्दो रहेको गुनासो गरेका थिए। ऋण लिन आउनेभन्दा ऋण लिएर समयमै फिर्ता गर्न नसक्नेहरुको संख्या उच्च हुन थालेको उनीहरुको भनाइ थियो।

One thought on “बैंकहरुले ग्राहक ठग्न खोजे तुरुन्त कारबाही हुन्छः गभर्नर पौडेल

  1. भिष्म भुषण श्रेष्ठ says:

    यो धेरै राम्रो कुरा हो! धन्यवाद! म एल्पिक फाइनान्स, बुटवल फाइनान्स, सिनेर्जी फाइनान्स हुँदै बेस्ट फाइनान्स क. लि.कमलदिबाट पिडित छू मेरो सरकारी मूल्य प्रति आना ३ लाख भएको ५-८-०-० पैसा ८८ अना जग्गा ३ करोड पर्ने जग्गा रु ८ लाख मा बेची अन्याय गरेको छ छानबिन गरी आबस्यक कारबाही गरी पाउँ!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*