अर्थमन्त्री पौडेलको आह्वान: ‘देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्छ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली युवालाई देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिन आह्वान गरेका छन्। राजधानीमा आयोजित ‘कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले नेपालभित्रकै सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड दिए।
अर्थमन्त्री पौडेलले भूगोलको हिसाबले सानो देखिए पनि नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले सम्पन्न रहेको बताए। विदेशमा सिकिएको सीप र पुँजीलाई नेपालमै प्रयोग गर्न सके मुलुक छिट्टै समृद्धिको दिशामा अघि बढ्न सक्ने उनको भनाइ छ। ‘भूगोलका हिसावले सानो भए पनि प्रकृतिले दिएको अपार सम्भावनालाई उपयोग गर्ने हो भने देश विकासको गतिमा अघि बढ्छ’ उनले भने।
आजको विश्व परिवेशमा अध्ययन, श्रम र व्यवसायका सिलसिलामा मानिसहरू विभिन्न देश पुग्ने क्रम स्वाभाविक भएको भन्दै उनले विदेशमा गइ सिकेका ज्ञान, सीप र पुँजीलाई स्वदेशमै लगानी गर्न युवाहरूलाई आग्रह गरे।
कोरियाको अनुभव उदाहरणीय रहेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरिएका सीप र पूँजीको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउन सकिने विश्वास व्यक्त गरे।













