दावी भुक्तानीमा जीवन बीमा कम्पनीको सफलता, दुई लाखबढी बीमितले पाए करिव ४९ अर्ब दावी

३ असार २०८२, मंगलवार १५:५३

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा करिव ४९ अर्ब रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेका छन् । हालसम्म १४ जीवन बीमा कम्पनीहरुले विभिन्न दावी वापत आफ्ना बीमितहरुलाई उक्त रकम दिएको बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरण अनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा दुई लाख १८ हजार ९५१ वटा बीमा दावी वापत ४८ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीको बीमा दावी भुक्तानी रकम ३ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कम्पनीहरुले गत आर्थिक वर्षको बैशाख महिनासम्ममा दुई लाख ४८ हजार ९९९ वटा बीमा दावी वापत ५० अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिएको थियो । गत आवको तुलनामा कम्पनीहरुको बीमा दावी भुक्तानीमा सामान्य अंकले गिरावट आएको नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरणले जनाएको छ ।

जीवन बीमा कम्पनीहरुको बीमा दावी भुक्तानीमा विभिन्न ठगीका सन्दर्भ तथा प्रहरी रिपोर्ट र बीमितका संरक्षकले बुझाएको विवरणका आधारमा बीमा दावी गर्ने प्रावधान रहेको छ । यस्ता सबै प्रक्रिया पुरा भएको खण्डमा जीवन बीमा कम्पनीहरुले सहजै बीमा दावी भुक्तानी गर्ने गरेका छन् ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले चालु आवको बैशाख महिनासम्म आफ्ना बीमितहरुलाई तिर्नु बुझाउनुपर्ने कुल बक्यौता रकम चार अर्ब ४५ करोड बीमा दावी भुक्तानी दिन बाँकी रहेको छ ।

जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता गत आर्थिक वर्षको बैशास मसान्तसम्मको अवधिको तुलनामा ९५ दशमलव ४२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुको गत आर्थिक वर्षमा सोही अवधिमा दुई अर्ब २७ करोड रुपैयाँ बीमा दावी बक्यौता रहेको थियो ।

बीमा कम्पनीहरुको हेलचक्र्याई र बीमितको संरक्षकले समयमा नै आवश्यक विवरण उपबल्ध नगराउँदा बीमा दावी भुक्तानी ढिला भएको जानकार बताउँछन् । जीवन बीमा कम्पनीहरुमा बीमा अभिकर्ता, बीमितका संरक्षक तथा कम्पनीको आपसी समन्वयमा सहजै बीमा दावी भुक्तानी प्राप्त गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*