दुई म्युचुअल फन्डले सेबोनबाट पाए इकाइ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई नयाँ इकाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले सिटिजन्स सदाबहार योजना र एनआईसी एशिया इक्विटी लिङ्कड इन्भेस्टमेन्ट स्किमलाई इकाई निष्कासनको स्वीकृति दिएको हो । दुबै योजना खुलामुखी प्रकृतिका छन् ।
सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सदाबहार योजनाले ५० करोड रुपैयाँ बराबरको इकाई जारी गर्ने तयारी गरेको छ । यस योजनाअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाई सार्वजनिक रुपमा निष्कासन गरिनेछ । योजना सञ्चालनका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धकको रूपमा रहनेछ।
यता, एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गतको एनआईसी एशिया इक्विटी लिङ्कड इन्भेस्टमेन्ट स्किमले १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गर्न बोर्डबाट अनुमति प्राप्त गरेको छ । १० रुपैयाँ अंकित दरका १० करोड इकाई सार्वजनिक निष्कासन गरिनेछ । यस योजनाको प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।












