सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रही काम गर्न मन्त्री यादवद्धारा निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले गत वर्ष बाढीले पुर्याएको क्षतिको अनुभवलाई मध्यनजर गर्दै, यस वर्षसमेत सम्भावित जोखिमका लागि पूर्ण सतर्क रहन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उनले भने, ‘गत वर्षको बाढीले निर्माणाधीन यस फोहर पानी प्रशोधन केन्द्रमा ठूलो क्षति पुर्याएको थियो । यसवर्ष पनि जोखिम आउन सक्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्ण सतर्क रही काम गर्नु होला ।’
अनुगमनका क्रममा मन्त्री यादवले फोहर पानी प्रशोधन केन्द्रको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेकाले यसले वातावरण संरक्षण र दिगो शहरी विकासतर्फ सकारात्मक सङ्केत दिएको उल्लेख गरेका थिए ।
यसैगरी मन्त्री यादवले फोहर पानीको वैज्ञानिक व्यवस्थापनमार्फत वातावरणीय संरक्षण तथा शहरी जनजीवनको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यो परियोजना तोकिएको समयमा नै सम्पन्न हुने आफुले विश्वास लिएको बताए।













