कैलाली कारागारमा कैदीको मृत्युपछि डडेल्धुरामा तनाव, राजमार्ग र बजार बन्द

४ असार २०८२, बुधबार ११:०५

काठमाडौँ ।  कैलाली जिल्ला कारागारमा रहेका डडेल्धुराका एक कैदीबन्दीको रहस्यमय मृत्यु भएपछि डडेल्धुरामा आन्दोलन चर्किएको छ। मृतक हरिशसिंह पालीको मृत्युपछि आक्रोशित स्थानीयवासीले बुधबार डडेल्धुरा सदरमुकामका बजार तथा राजमार्ग बन्द गरेका छन्।

डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय पालीको मृत्युबारे उनका आफन्तले शंका व्यक्त गरेका छन्। मृतकका परिवारले पालीको हत्या गरिएको आरोप लगाएका छन् भने प्रहरीको संलग्नतामाथि समेत प्रश्न उठाएका छन्। घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै स्थानीयले बन्द आह्वान गरेका हुन्।

पीडित परिवार र स्थानीयको मागअनुसार घटना छानबिन नभएसम्म आन्दोलन जारी रहने जनाईएको छ ।

परिवारका अनुसार कारागारमै प्रहरीको कुटपिटका कारण पालीको ज्यान गएको हो। सोमबार अचानक बिरामी भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयमै उनको निधन भएको थियो।

पालीमाथि बैंकिङ्ग कसुरमा कारबाही गरिएको थियो। कैलाली जिल्ला अदालतले २९ फागुनमा उनलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसपछि डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट उनलाई पक्राउ गरिएको थियो। पक्राउ गरेको दुई दिनभित्रै उनको मृत्यु भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*