ट्रम्प नीति र इजरायल–इरान युद्धले विश्व अर्थतन्त्र धरापमा, नेपाल महङ्गीको चपेटामा पर्ने आंकलन

काठमाडौं । विश्व अर्थतन्त्र कठिन अवस्थामा गुज्रीरहेका बेला इजरायल–इरान युद्धले फेरी ठूलो झट्का दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेका व्यापार नीतिका कारण विश्व अर्थतन्त्र तनावपूर्ण अवस्थामा अघि बढिरहेको बेला इजरायल–इरान युद्धले थप असर गरेको हो ।
मध्यपूर्व क्षेत्रमा रहेको इजरायलले इरानमा गरेका मिसाइल हमला र प्रतिउत्तरमा इरानले तेल अभिभ लगायतका क्षेत्रमा गरेको हमलाले मध्यपूर्वको अर्थतन्त्रमा ठूलो धक्का पुग्ने अर्थशास्त्रीहरुले चेतावनी दिएका छन् । बुधबार इजरायल–इरानको छैटौ दिन हो, युद्ध रोकीने कुनैपछि छाटकाट देखिएको छैन् ।
इजरायल–इरानबीचको युद्धको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव केवल त्यस क्षेत्रमा मात्र सीमित रहदैन् । यसको असर अमेरिकी अर्थतन्त्रदेखि विश्वव्यापी आर्थिक स्थायीत्वसम्म पर्ने आंकलन गरिएको छ । छिमेकी मुलुक भारत लगायतका अधिकांश पश्चिमी मुलुकहरुले पनि कर्चा तेलको ठूलो हिस्सा इरानबाटै आयात गर्ने गरेका छन् ।
इजरायल–इरानको युद्धका असरस्वरुप खाने तेल, पेट्रोल, खाना देखि लिएर भ्रमणसम्मका क्षेत्रमा महँगी बढ्ने देखिएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने भएको छ । युद्धका कारण विश्व अर्थतन्त्रमा कच्चा तेलको मूल्यमा वृद्धि हुने भएको छ । इरान विश्वमा धेरै तेल उत्पादन गर्ने देशहरूमध्यमा पर्दछ । विश्वको झन्डै २० प्रतिशत कच्चा तेलको आपूर्ति इरानले गर्छ । युद्धको कारण आपूर्तिमा अवरोध आयो भने विश्वबजारमा कच्चा तेलको मूल्य आकाशिने छ ।
मध्यपूर्वका देशहरुमा पेट्रोलको मूल्य बृद्धि हुनेछ । जसले गर्दा यातायात, ढुवानी, उत्पादन र उपभोग्य सामानहरू महँगा हुने आंकलन गरिएको छ । विश्वका उत्पादनशील मुलुकले उत्पादन गरेका माल, समान ढुवानीमा महँगी बढेसँगै विश्व अर्थतन्त्रमा स्वतः महँगी बढ्ने आंकलन गरिएको छ ।
युद्धको खबरले लगानीकर्तामा त्रास फैलाएको छ र तिनीहरूले सुरक्षित सम्पत्तिहरू (जस्तैः सुन, सरकारी ऋणपत्र) रोज्न थाल्छन्। यसले गर्दा शेयर बजारमा गिरावट ल्याउन सक्छ। तर रक्षा कम्पनीहरू (हतियार निर्माता) को स्टक मूल्य भने उचालिन सक्ने सम्भावना पनि छ ।
युद्धका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित बन्ने भएको छ । इरानको भू–राजनीतिक स्थानका कारण युद्धले सामुद्रिक व्यापार मार्गहरू अवरुद्ध गर्न सक्छ । यसले चीन, भारत, युरोप जस्ता देशमा सामान ढुवानी ढिलो पार्न सक्छ। थपमा यसबाट वस्तुहरूको मूल्यमा वृद्धि र विश्वव्यापी आर्थिक मन्दी को जोखिम बढाउँन सक्ने छ ।
इजरायल–इरान युद्धले नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव
ठूलो संख्यामा रहेका नेपाली श्रमिकलाई रोजगारी दिइरहेको पश्चिम एसियामा संकट बढ्दा त्यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पर्ने भएको छ । खाडी मुलुकको मुद्रा नेपाली रुपैयाँको तुलनामा निकै बलियो छ । बहराइनको एक दिनार नेपालको ४ सय ३९ रुपैयाँ हुन्छ । ओमानको एक रियाल नेपालमा ३ सय ४८ रुपैयाँ हुन्छ । यसको लाभ नेपाली श्रमिकमार्फत नेपालले पनि लिइरहेको छ ।
वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स देशका लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत हो । खाडी देशमा बसिरहेका नेपालीले लाखौँ डलर राशि नेपाल पठाइरहेका छन् । देशको लाइफलाइनका रूपमा रेमिट्यान्स रहेकाले पश्चिम एसिया युद्ध हुनु र त्यसबाट क्षेत्रका अन्य देशसमेत प्रभावित हुनु नेपालका लागि दुर्भाग्यपूर्ण हुनेछ ।
एसियाली विकास बैंकले केही महिनाअगाडि निकालेको एउटा रिपोर्टमा कुनै पनि तीव्र भूराजनीतिक उथलपुथलले आपूर्ति शृंखलालाई रोक्ने र वैश्विक मुद्रास्फीति बढ्न सक्ने चेतावनी दिइएको थियो । यसबाट संसारभरको वित्तीय व्यवस्थामा खलल आउन सक्ने एडीबीको चेतावनी थियो ।
इजरायल र इरानबीच युद्ध आशंकाको सिधा असर इन्धन (डिजेल, पेट्रोल) मूल्यमा देखिन थालिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । इरान क्रुड तेल उत्पादन गर्ने संसारको सातौँ र तेल उत्पादक देशहरूको संगठन ओपेकको तेस्रो ठूलो उत्पादक हो, जो आफैँ तेलको ठूलो आपूर्तिकर्ता हो । विश्वव्यापी बजार आपूर्तिमा उसलाई कुनै समस्या परेमा तेलको मूल्यमा भारी वृद्धि हुन सक्छ ।
युद्ध हुँदा यसको असर पुग्ने साउदी, कतार र यूएईबाट हाम्रो छिमेकी भारतले ठूलो परिमाणमा तेल किन्छ । जसरी भारत तेलमा पश्चिम एसियासँग निर्भर छ, उसैगरी नेपाल भारतमा निर्भर छ । युद्धको स्थितिमा तेलको आपूर्ति कम हुन जान्छ अनि माग उच्च हुन्छ । यस्तोमा तेलको मूल्य बढ्छ । यसको असर नेपालीको गोजीमा समेत पर्नेछ ।
तेलको मूल्य बढ्दा प्रत्यक्ष मार संसारका ती सबै देशले व्यहोर्नुपर्ने हुन्छ, जो आफ्नो आवश्यकताको ८० प्रतिशतभन्दा बढी आयातमा निर्भर छन् । नेपालमा आयात हुने वस्तुहरूमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमै पर्छ । यातायात, ढुवानी र विकास निर्माणका काममा डिजेलको खपत उच्च छ । महँगी र आपूर्तिमा अवरोधले यी सबै योजनामा असर पार्न सक्छ ।
इरान–इजरायल युद्धको प्रभाव केवल सैन्य दृष्टिकोणमा मात्र नभएर विश्वको आर्थिक ढाँचालाई समेत हल्लाउने सम्भावना राख्दछ । अमेरिका जस्तो शक्तिशाली अर्थतन्त्रलाई समेत यस्तो युद्धले तेल मूल्य, मुद्रास्फीति, स्टक बजार, र नीति निर्धारण मा गम्भीर असर पुर्याउन सक्छ ।













