एनआईसी एशिया बैंकको नाममा नयाँ स्क्याम: किर्ते कागजातमार्फत ठगी प्रयास

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाम, छाप, लोगो तथा कर्मचारीको हस्ताक्षर किर्ते गरी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाइएको भन्दै आम ग्राहक र सरोकारवालाहरूलाई सतर्क रहन अनुरोध गरेको छ।
बैंकका अनुसार ‘मोबाइल बैंकिङ कारोबारमा स्पष्टीकरण सोधिएको’ भन्ने शीर्षकमा गलत विवरणसहितको सन्देश सामाजिक सञ्जालमा पठाइएको छ। यस्ता गतिविधि पूर्णरूपमा भ्रामक तथा अवैध भएको स्पष्ट पार्दै बैंकले यस्ता स्क्यामहरूबाट सजग रहन आग्रह गरेको छ।
यस्तै किर्ते सन्देशमा बैंकको नामबाट गढी–६, सुनसरी बसोबास गर्ने एक खातावालालाई मोबाइल बैंकिङमार्फत २०७८ साल जेठ ४ गतेदेखि २५ गतेसम्मको अवधिमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको उल्लेख गर्दै त्यसको स्रोत र उद्देश्य सम्बन्धमा स्पष्टीकरण दिन माग गरिएको देखिन्छ। सो पत्रमा यदि तोकिएको समयसीमाभित्र जवाफ नआएमा बैंकले कानुनी तथा आन्तरिक नीतिअनुसार प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ।
तर, बैंकले यस्ता सन्देशहरूको सत्यता नठान्न र कुनै पनि जानकारी वा विवरण नदिन आग्रह गरेको छ। बैंकले आधिकारिक जानकारीका लागि आफ्ना आधिकारिक ग्राहक सेवा नम्बर र हटलाइनमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।












