संकटको भुमरीमा डुबेको शुभश्री अग्नि सिमेन्ट, २ अर्बको आइपीओले ऋण घटाउने रणनीतिमा

काठमाडौँ । वित्तीय संकटको दलदलमा फसिरहेको शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आफूमाथि चुलिँदै गएको आर्थिक दबाबलाई व्यवस्थापन गर्न नेपाल धितोपत्र बोर्डको ढोका ढकढक्याएको छ । ऋणको भारीले थिचिरहेको र आम्दानी दिनानुदिन घट्दै गइरहेको अवस्थामा कम्पनीले २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्न अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको हो ।
कम्पनी आइपीओ मार्फत पूँजी जुटाएर ऋण घटाउने प्रयास लागेको देखिएको हो ।शुभश्री अग्नि सिमेन्ट उद्योगको स्थापना २०७० फागुन २० गते (मार्च ४, २०१३) मा निजी कम्पनीका रूपमा भएको हो । त्यसपछिको २०७९ साउन ३० गते (जुलाई १५, २०२२) मा कम्पनीले आफूलाई सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेको थियो । स्थापना कालमै व्यवसाय विस्तार गर्ने महत्वाकांक्षा लिएको कम्पनीले २०७४ मंसिर (डिसेम्बर २०१७) मा प्रतिदिन ७०० मेट्रिक टन क्षमताको क्लिङ्कर उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्यायो । त्यसपछि २०७६ असार (जुलाई २०१९) मा १२०० मेट्रिक टन प्रतिदिन क्षमताको ग्राइन्डिङ युनिट सञ्चालनमा ल्यायो । तत्कालीन योजनाले गर्दा बैंकिङ क्षेत्रमा ठुलो कर्जा लिएको कम्पनीले उत्पादन विस्तार गरे पनि त्यस अनुसार आम्दानी र नाफा बढाउन भने सकेन ।
कम्पनीको आर्थिक सूचकांक पछिल्ला आर्थिक वर्षहरूमा निराशाजनक बन्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २ अर्ब १६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ५५ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भयो । तर आर्थिक वर्ष २०८०/८१ मा भने आम्दानी एकाएक घटेर १ अर्ब ५९ करोड ४० लाख रुपैयाँमा सीमित भयो । आम्दानी घटेसँगै कम्पनीको सञ्चालन नाफा पनि कमजोर बन्दै गएको छ । एक वर्षको अवधिमा मात्र ९५ करोड ७० लाख रुपैयाँ बराबरको नाफा घटेको तथ्यांकले कम्पनीको व्यापारिक अवस्था कमजोर भएको देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा मार्जिन २२.४२ प्रतिशत थियो भने २०८०/८१ मा यो दर ३१.७१ प्रतिशत पुगेको छ । तर, मार्जिनको यो सुधारले पनि समग्र वित्तीय संकट कम गर्न भने सकेको छैन । किनभने ऋणभारको चाप कम्पनीको ढाडमा दिनानुदिन बढ्दै गएको छ ।
ऋण व्यवस्थापनतर्फ हेर्दा कम्पनीको अवस्था अझै चिन्ताजनक छ । कुल ऋण र नगद प्रवाह अनुपात आर्थिक वर्ष २०७८/७९ मा २२.१५ गुणा थियो । तर यो अनुपात आर्थिक वर्ष २०७९/८० मा १८४.३९ गुणामा उक्लियो भने आर्थिक वर्ष २०८०/८१ मा झन् बढेर २७२.८० गुणामा पुगेको छ । यो अनुपातले कम्पनीको नगद प्रवाहको अवस्था कमजोर र ऋण तिर्ने क्षमता गम्भीर संकटमा रहेको देखिएको छ ।
कम्पनीको समग्र ऋण–इक्विटी अनुपातसमेत लगातार उकालो लागेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३.३७ गुणा रहेको अनुपात २०७९/८० मा बढेर ३.८९ गुणामा पुग्यो भने आर्थिक वर्ष २०८०/८१ मा केही घटेर ३.७४ गुणामा झरेको छ। कम्पनीको ब्याज तिर्ने क्षमता समेत कमजोर हुँदै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.६९ गुणा रहेको यो अनुपात २०७९/८० मा घटेर १.०५ गुणामा सीमित भयो । त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा झनै कमजोर हुँदै १.०४ गुणामा झ¥यो ।
यसैगरी चालु अनुपात पनि निरन्तर उतारचढावमा देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा १.३६ गुणा रहेको चालु अनुपात २०७९/८० मा घटेर १.२३ गुणा मात्र रह्यो । यद्यपि आर्थिक वर्ष २०८०/८१ मा भने यो अनुपात केही सुधार भएर १.८१ गुणामा पुगेको छ । तर यो सुधार पनि कम्पनीको समग्र वित्तीय अवस्थाका लागि पर्याप्त देखिँदैन ।
आम्दानी घट्ने, ऋण भार बढ्ने र ब्याज तिर्ने क्षमता कमजोर बन्ने त्रिपक्षीय संकटले शुभश्री अग्नि सिमेन्टलाई अब थप कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ । उत्पादन लागत, बजार प्रतिस्पर्धा, निर्माण क्षेत्रको मन्दी, आयातित सिमेन्टसँगको मूल्य प्रतिस्पर्धा र ऋणको भारका कारणले कम्पनीको वित्तीय अस्तित्व खतरामा परेको छ ।
४ अर्ब ५५ करोड रुपैयाँ बराबरको बैंक कर्जाको रेटिङ गराउँदा लङ टर्म कर्जातर्फ १ अर्ब ८९ करोड ९६ लाख रुपैयाँका लागि ’केयर एनपी बी प्लस’ र सर्ट टर्म बैंक कर्जातर्फ २ अर्ब ६६ करोड रुपैयाँका लागि ’केयर एनपी ए फोर प्लस’ रेटिङ पुनः पुष्टि भएको छ । यी रेटिङहरुले समेत कम्पनीको जोखिम अवस्थालाई पुष्टि गर्छन् ।
कम्पनीको व्यवस्थापन नेतृत्वमा अध्यक्ष कृष्णप्रसाद पोखरेल र प्रबन्ध निर्देशक डा. ताराप्रसाद पोखरेल रहेका छन् । यति लामो समयसम्म व्यवसाय सञ्चालन गर्दा समेत ऋण व्यवस्थापन, बजार विस्तार र प्रतिस्पर्धी उत्पादकत्व हासिल गर्न कम्पनीले अपेक्षित सफलता हासिल गर्न सकेको देखिँदैन । जोखिमपूर्ण अवस्थामा रहेको सोहि कम्पनी अहिले आम लगानीकर्तालाई गुमराहमा राख्न आइपीओको प्रक्रियामा अघि बढेको छ । कम्पनीले २ करोड २ लाख १० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
वित्तीय संकटमा फसेको कम्पनीले आइपीओमार्फत सर्वसाधारणबाट पूँजी उठाउने योजना ल्याउनु नै स्वाभाविक रूपमा शंकाको विषय बन्न गएको छ । उद्योगको उत्पादन क्षमताको पूर्ण उपयोग हुन नसकेको, कच्चा पदार्थ आयात निर्भरता उच्च रहेको, लागत व्यवस्थापन कमजोर भएको र बजार विस्तार योजना प्रभावकारी बन्न नसकेको यथार्थले अझै कम्पनीलाई चुनौती थपिदिएको छ ।













