१४ करोड ठगी गरेर फरार मितेरी सहकारीका सञ्चालक भण्डारी कम्बोडियाबाट पक्राउ

५ असार २०८२, बिहीबार १४:२५

काठमाडौँ ।  मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौं रुपैयाँ ठगी गरेर लामो समयदेखि फरार रहेका प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा भण्डारीलाई पक्राउ गरी २०८२ साल असार ४ गते नेपाल ल्याएको हो। पक्राउ परेका भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सञ्चालक समेत रहेका भण्डारीले मितेरी सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूसँग मिलेर १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अनुसन्धान हुँदै आएको थियो। ठगी र कीर्ते मुद्दामा फरार रहेका भण्डारीमाथि सन् २०२४ अक्टोबर २९ मा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।

जिल्ला बर्दियाको बाँसगढी नगरपालिका–७ निवासी ४२ वर्षीय भण्डारीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत परिच्छेद २१ को दफा २४९ (ठगी सम्बन्धी कसूर) र परिच्छेद २५ को दफा २७६ (कीर्ते गर्न नहुने कसूर) मा मुद्दा चलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*