शेयर बजारमा गिरावटः कारोबार रकम भने ११ अर्ब, किन गुम्दै छ लगानी ?

५ असार २०८२, बिहीबार १५:०६

काठमाडौँ । केही दिन यता झिनो गतिको उतारचढाव देखाइरहेको शेयर बजार आज भने दोहोरो अकंको गिरावट देखिएको छ । लगानीकर्ताहरुको मनोबल कमजोर रहँदा बजारले अपेक्षित सुधार गर्न सकेको छैन । अधिकांश लगानीकर्ता अहिले प्रतिक्षा र मूल्यांकनको अवस्थामा बसेका छन् ।

यद्यपि बैंकिङ प्रणालीमा प्रशस्त तरलता र निक्षेपमा न्यून ब्याजदरले बजारमा लगानीको सम्भावना अझै कायम रहेको विश्लेषकहरु बताउँछन् । बचतमा पाइने न्यून ब्याजदरले धेरैलाई वैकल्पिक लगानीको खोजीमा उक्साइरहेको परिदृश्य देखिएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता र सीमित कर्जा प्रवाहले शेयर बजारतर्फ कर्जाको माग बढेको छ ।

विशेषगरी, शेयर धितो कर्जामा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भने ठूला कर्जामा जोखिमभार घटाइएपछि संस्थागत लगानीकर्ताहरुले पनि बजारमा थप प्रवेश गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार शेयर धितो कर्जा करिब ३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो वृद्धि बजारमा नयाँ माग सिर्जना गर्न सक्ने र शेयर मूल्यमा सकारात्मक असर पार्न सक्ने अनुमान गरिएको छ ।

साथै, संभावित लगानीमैत्री मौद्रिक नीतिले बजारमा चलायमानता ल्याउन सक्ने विश्लेषकहरुको विश्वास छ । कारोबार रकम बिस्तारै बढ्दै गएकाले पनि बजारले क्रमशः स्थिरता लिंदै सकारात्मक दिशा लिन सक्ने संकेत देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.६८ अकंले घटेर २६२९.९९ बिन्दुुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ९२ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसूचकहरु राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.३९ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको ०.८१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०२ प्रतिशत, हाइड्रोपावर समूहको १.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*