बजारमा अधिक तरलता: राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँसम्म संकलन गर्दै

८ असार २०८२, आईतवार १०:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनलाई सन्तुलनमा राख्न निक्षेप संकलन उपकरणमार्फत बजारबाट ठूलो परिमाणमा तरलता खिच्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनको अवधिका लागि निक्षेप संकलन बोलकबोल प्रणालीमार्फत ६० अर्ब रुपैयाँसम्मको रकम संकलन गर्ने तयारी गरेको हो। आवश्यकताअनुसार सो सीमा बढ्न वा घट्न सक्ने बताइएको छ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्। सहभागी संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता राष्ट्र बैंकमा राख्न ब्याजदरको आधारमा प्रतिस्पर्धा गर्नेछन्। बहुब्याजदर प्रणाली लागू गरिएको हुँदा एउटै संस्थाले विभिन्न ब्याजदर प्रस्तावसहित बहुबोलकबोल गर्न सक्नेछ।

निक्षेप संकलनमा सहभागी हुन चाहने संस्थाहरूले आफू जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछाडि चार अंकसम्म खुलाएर) उल्लेख गरी आवेदन दिनुपर्नेछ। यसका लागि राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली प्रयोग गरिनेछ र आवेदन दिउँसो ३ बजेभित्र पेश गर्नुपर्नेछ। एक पटकमा कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको अनुपातमा रकम आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निक्षेप संकलन बोलकबोल प्रणाली नेपाल राष्ट्र बैंकले मौद्रिक सञ्चिति व्यवस्थापनका लागि प्रयोग गर्ने महत्वपूर्ण उपकरण हो। बजारमा बैंकिङ प्रणालीसँग रहेको अधिक तरलता अस्थायी रूपमा बैंकबाट संकलन गरी निश्चित अवधिसम्म राष्ट्र बैंकमा राखिनु निक्षेप संकलन प्रक्रिया हो। यसले छोटो अवधिका लागि तरलता घटाइ बैंकिङ प्रणालीको स्थायित्व कायम राख्न सहयोग पुर्‍याउँछ। यद्यपि, कुनै बेला राष्ट्र बैंकले बोलकबोल नगरिकन पनि स्थिर दरमा निक्षेप संकलन गर्न सक्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*