७२ जिल्ला विदेशीलाई लिजमा दिन डा. सिंहको प्रस्ताव, संसदमा हंगमा

८ असार २०८२, आईतवार १२:५०

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा व्यंग्य गर्दै नेपालका पाँच जिल्लामा मात्र बजेट दिने सरकारको नीति प्रति आक्रोश पोखेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले बाँकी ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई लिजमा दिन प्रस्ताव गरेका हुन्।

सहकारी विकास मन्त्रालयले काठमाडौंलाई निजी सम्पत्ति ठानेर बजेट दिएको भन्दै सांसद सिंहले आलोचना गरे। तर, उनको अभिव्यक्तिप्रति एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउँदै नियमापत्ति गरे। बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ अनुसार सिंहको अभिव्यक्ति राष्ट्रघाती भएको बताए।

सांसद सिंहले आफ्नो मन्तव्य जारी राखिरहँदा सभामुख देवराज घिमिरेले पटकपटक संसदीय मर्यादा कायम गर्न र संसदीय भाषा प्रयोग गर्न निर्देशन दिएका थिए। अन्ततः सभामुख घिमिरेले सिंहको पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिए।

सांसद सिंहलाई खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकमा बोल्ने समय दिइएको थियो। तर उनले बढी बजेट सधैंजसो निश्चित जिल्लामा केन्द्रित गरिने सरकारी प्रवृत्तिको आलोचना गर्दै ती जिल्लाबाहेकका अरु जिल्लालाई लिजमा दिन सुझाव दिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*