बीवाईडीको ‘डल्फिन २०२५’ सार्वजनिकः आकर्षक डिजाइन र अत्याधुनिक सुविधा, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक गरिएको छ। साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ नामक विद्युतीय गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो।
आइतबार आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलमा अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन् । साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठका अनुसार कम्पनीले नेपाली उपभोक्तामाझ बीवाईडीको विश्वसनीयता बलियो बनाउने लक्ष्य लिएको छ। उनले भने, ‘प्रविधिक सेवा सहज बनाउँदै उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि दिन कम्पनी प्रतिबद्ध छ।’
कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले हालसम्म नेपाली बजारमा करिब २५ सय युनिट बीवाईडी डल्फिन गाडी बिक्री भइसकेको जानकारी दिइन्। उनले नेपालमा बीवाईडी चढ्ने अधिकांश ग्राहक सन्तुष्ट भएको दाबी गर्दै नयाँ मोडलले अझै धेरै उपभोक्तालाई आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले डल्फिन मोडल नेपाली ग्राहकबीच लोकप्रिय बन्न सफल भएको चर्चा गरे। उनले नयाँ सार्वजनिक गरिएको डल्फिन २०२५ ले यात्रालाई झनै आरामदायी बनाउने बताए। उनले भने, ‘विश्वभर बीवाईडीका ८ लाख ३० हजार युनिट भन्दा बढी गाडीहरू बिक्री भइसकेका छन्।’
नयाँ मोडलमा ४४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन फोस्फेट ब्याट्री जडान गरिएको छ, जसले एक पटक पूरै चार्ज गर्दा ३४० किलोमिटरसम्मको यात्रा तय गर्न सक्ने कम्पनीको दाबी छ।
साथै, ब्याट्रीको आयु १५ वर्षसम्म हुने बताइएको छ। ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको यस गाडीले १८० एनएम टर्क उत्पादन गर्छ। १५० किलोवाटको डीसी फास्ट चार्जिङ सुविधा भएको यस गाडीमा ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर जस्ता सुविधा पनि दिइएको छ।
डल्फिन २०२५ पूर्णतया विद्युतीय ह्याचब्याक सेग्मेन्टमा पर्छ। कम्प्याक्ट डिजाइन, प्रभावकारी ड्राइभिङ रेन्ज र सुरक्षाका लागि आवश्यक विभिन्न प्रविधिहरू यसमा समावेश छन्। १५.६ इन्चको घुम्ने टचस्क्रिन, लेन किप असिस्ट र अनुकूल क्रूज कन्ट्रोल जस्ता अत्याधुनिक विशेषताहरूले यसलाई अझ आकर्षक बनाएका छन्। नयाँ डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ।













