सात कम्पनीको वार्षिक साधारण सभा असारमा हुँदै, अझै पाइन्छ यी कम्पनीको घोषित लाभांश

९ असार २०८२, सोमबार १२:५२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका सात कम्पनीहरुले यहि असार महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् । कम्पनीले लाभांश, वार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्त, सञ्चालक निर्वाचन, मर्जर लगायतका प्रस्तावसहित वार्षिक सभा आह्वान गरेका हुन् ।

कम्पनीहरुले प्रकाशित गरेको सूचना अनुसार असार महिनामा तिन वटा जीवन बीमा कम्पनी, दुई वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघुवित्तहरुले आफ्नो वार्षिक साधारण सभा गर्ने भएका छन् । अधिकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल प्रस्ताव गरेका छन् ।

साधारणसभा घोषणा गरेका सात कम्पनीहरुमध्ये तीन वटाको प्रस्तावित लाभांश अझै पाउन सकिन्छ । एलआइसी नेपाल, एशियन लाइफ र युनाइटेड अजोड इन्स्योरेन्सको बुकक्लोको मिति बाँकी नै रहेको छ । जसले गर्दा इच्छुक शेयरधनीहरुले बुकक्लोज मिति अघि नै शेयर कारोबार गरी प्रस्तावित लाभांश प्राप्त गर्न सकिने छ ।

१) हिमालयन लाइफ इन्स्योरेन्स

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा भोलि बस्दैछ । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

२) एलआइसी नेपाल

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले यही असार ३० गते सोमबार २३औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले असार १६ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ।

३) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यही असार ३० गते सोमबार आफ्नो १७औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे सभा बस्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत (१७ करोड ३३ लाख ९१ हजार रुपैयाँ) बोनस शेयर र ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार रुपैयाँ) बराबर नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना, सर्वसाधारण शेयरधनी (समूह ख) बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ। वार्षिक साधारणसभा तथा लाभांश विरतण प्रयोजनका लागि यस कम्पनीले यही असार २० गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

४) युनाइटेड अजोड इन्स्योरेन्स

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही असार ३० गते सोमबार आफ्नो ३१औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि मा बिहान साढे १० बजे बस्नेछ।

उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्नेछ।

त्यसैगरी सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाका लागि तय गरिएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले यही असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

५) राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले यही असार २९ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा. लि मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ आव २०७६/२०७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी कम्पनीको सोही दुई आवको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथान नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरूमाथि छलफल गरी पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असार २३ गते देखि साधारणसभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

६) अभियान लघुवित्त

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३० गते पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा मध्यान्ह साढे १२ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त साधारणसभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र आवश्यकता अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि लागि तय गरिएका छन्।

साधारणसभा प्रयोजनार्थ कम्पनीले यही असार १६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

७) ग्रामिण विकास लघुवित्त

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्त यही असार २८ गते साधारणसभा बस्ने भएको छ।

साधारणसभा ग्रामीण विकास लघुवित्तको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजेदेखि बस्नेछ। साधारणसभामा भौतिक र भचर्चुअल दुवै माध्यमबाट भाग लिन सकिने कम्पनीले जनाएको छ।

सभाले ग्रामीण विकास र समाज लघुवित्त एकआपसमा १ बराबर १ कित्ता शेयर अनुपात कायम हुने गरी मर्ज हुने प्रस्ताव पारित गर्नेछ। साथै मर्जर सम्बन्धी अन्य आवश्यक सबै कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यसैगरी कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले टुंगो लगाउनेछ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*