घाम पावरले जित्यो उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार

९ असार २०८२, सोमबार १३:४१

काठमाडौँ । नेपालको घाम पावरले सन् २०२५ को किलिङ कर्भ प्राइज जितेको छ। विश्वभरका जलवायु परिवर्तनविरुद्ध लड्ने प्रभावकारी समाधानलाई प्रदान गरिने यो एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। ग्रामीण समुदाय र उद्योगलाई वितरण आधारित स्वच्छ सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै जलवायु सहनशीलता निर्माणमा पुर्‍याएको योगदानका लागि घाम पावरलाई यो सम्मान प्रदान गरिएको हो।

यो घोषणा हालै केन्याको नाइरोबीमा आयोजित टेड काउन्टडाउन समिट मा गरिएको थियो। उक्त समिटमा विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागिता रहेको थियो। जलवायु परिवर्तनविरुद्ध नवीन तथा क्रान्तिकारी विचारहरूको आदानप्रदान गरिएको यस कार्यक्रममा घाम पावर इनर्जी (ऊर्जा) श्रेणी मा विजेता घोषित भएको हो।

पुरस्कार स्वरूप घाम पावरले आफ्नो योजनाहरू विस्तार गर्न ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ। सौर्य ऊर्जालाई वित्तीय उपकरणहरूसँग संयोजन गर्दै सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुलभ र स्वच्छ बिजुली पुर्‍याउने नवीन मोडेलका कारण घाम पावरले यो विशेष पहिचान बनाएको हो। २५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरूमध्येबाट छानिँदा घाम पावरले आफ्नो प्रभावशाली कामका आधारमा यो पुरस्कार जित्न सफल भएको हो।

चार हजारभन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको घाम पावरले व्यवसायहरू मात्रै होइन, खाद्य प्रणाली, स्वास्थ्य सेवा र समग्र जलवायु सहनशीलता बलियो बनाउनसमेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यसले नेपालको स्वच्छ उर्जा यात्रामा एक नयाँ उचाइ थपेको छ।

जलवायु संकट गहिरिँदै गइरहेका बेला घाम पावरले समुदाय केन्द्रित र नवप्रवर्तनमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको कार्बन न्यूनीकरण र दिगो भविष्य निर्माणतर्फ निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*