राताम्य यात्रामा ब्रेकः कारोबार रकम भने खुम्चियो, कस्तो होला अबको यात्रा ?

९ असार २०८२, सोमबार १५:०७

काठमाडौँ । लगातार चार दिनसम्म ओरालो लागेको शेयर बजारमा आज भने सानो सुधार देखिएको छ । बैंकिङ क्षेत्रमा उच्च तरलता र न्यून ब्याजदरका कारण लगानीकर्ताहरु फेरि बजारप्रति आकर्षित हुन थालेका छन् । हाल बैंक निक्षेपमा अत्यन्त न्यून ब्याज पाइँदा बचतकर्ताहरु बैंकबाट पैसा झिकेर शेयर बजारमा लगानी गर्न थालेको देखिएको छ । अन्य आर्थिक क्षेत्रहरु जस्तै व्यापार, रियल स्टेट र व्यवसायहरू मन्दीको अवस्थामा रहँदा बजारले नै अर्थतन्त्रमा केही सकारात्मक संकेत दिन थालेको छ ।

बैंकहरुले पनि लगानी योग्य कर्जाको अभावका कारण शेयर धितो कर्जातर्फ ध्यान बढाइरहेका छन् । अहिले ठूला लगानीकर्ताहरुले समेत बढी शेयर धितो कर्जा लिएर बजार प्रवेश गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सेयर धितो कर्जा करिब ३९ प्रतिशतले बढेको छ भने ५० लाखभन्दा माथिको कर्जामा जोखिमभार घटाइएपछि ठूला कर्जामा आकर्षण बढेको छ । यस्तो प्रवृत्तिले बजारमा माग बढ्दै मूल्यमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यसबाहेक, मौसमी प्रवृत्तिका कारण असार र साउन महिनामा शेयर बजार प्रायः सक्रिय रहने गरेको देखिएको छ । सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक हुने समयसमेत नजिकिँदै गर्दा मुनाफा राम्रो देखिएमा त्यसले बजारमा थप उत्साह ल्याउने विश्वास गरिएको छ । साथै, आगामी मौद्रिक नीति अझै सहज र लगानीमैत्री आयो भने पुँजी बजार थप सक्रिय भई आर्थिक सुधारको संकेत दिन सक्ने विज्ञहरुको विश्लेषण छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१३ अकंले बढेर २६०१.११ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार ७ उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको ०.३५ प्रतिशत, फाइनान्स समूहको ०.६८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८५ प्रतिशत, हाइड्रोपावर समूहको ०.६५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*