चिमखोला–राहुघाटबाट परीक्षण उत्पादन सुरु

काठमाडौँ । रघुगंगा गाउँपालिकामा निर्माण गरिएको ३७.५ मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । तुदी पावर कम्पनी लिमिटेडको प्रवद्र्धनमा बनेको यो आयोजना अहिले संरचनात्मक परीक्षण सकेर विद्युत् उत्पादन परीक्षणमा प्रवेश गरेको हो । कम्पनीका प्रतिनिधि इन्द्र ढकालका अनुसार आगामी १५ दिनभित्र सबै परीक्षण कार्य पूरा गरी आयोजना केन्द्रीय प्रसारण प्रणालीमा जोडिने तयारीमा छ ।
आयोजनाको बाँध र डिसेन्डर रघुगंगा गाउँपालिका–८ स्थित बन्दी क्षेत्रमा निर्माण गरिएको छ, जहाँ आठ मिटर अग्लो, ३० मिटर चौडाइ र ११० मिटर लम्बाइ भएको पानी थिग्य्राउने पोखरी तयार पारिएको छ । यहाँबाट करिब पाँच किलोमिटरभन्दा बढी दूरीको सुरुङ हुँदै ल्याइएको पानीलाई रघुगंगा–७ चिमखोला बगरस्थित विद्युतगृहमा खसाल्न नौ सय ५० मिटर लामो पेनस्टक पाइप लाइन प्रयोग गरिएको छ । आयोजना सन् २०२० को अन्त्यतिर निर्माण सुरु गरिएको हो, जसमा रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले सिभिल निर्माणको जिम्मा लिएका थिए भने माछापुच्छ्रे, बिएमइडब्लु नेपाल र एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल कम्पनीहरूले हाइड्रो र इलेक्ट्रोमेकानिकल काम सम्हालेका थिए।
आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्वीचयार्डमा जोडिनेछ । करिब १४ किलोमिटर दूरीको प्रसारण लाइनमा ४९ वटा टावर निर्माण भइसकेका छन् । चिमखोला–मंगले–राहुघाट आयोजना सम्पन्न भएसँगै यही बेसिनमा तुदी पावरले प्रवर्द्धन गरिरहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ, जसको लागत १४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।











