गुणस्तर र विश्वसनीयतामा भरोसा जित्दै मारुति सिमेन्ट: पूर्वी बजारमा बलियो पकड, व्यापार धमाकेदार

९ असार २०८२, सोमबार १६:५६

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा विशेष स्थान बनाउँदै आएको मारुति सिमेन्ट लिमिटेड पछिल्लो समय उपभोक्ताहरूको सर्वाधिक रोजाइमा पर्न सफल भएको छ। नेपालका ठूला उद्योग समूह राठी समूह र गोयल समूहको संयुक्त लगानीमा सञ्चालन हुँदै आएको कम्पनीले उत्पादन र बजार विस्तारमा समेत उल्लेखनीय प्रगति गर्दै आएको हो ।

कम्पनीले उत्पादन गर्ने सिमेन्ट उच्च गुणस्तरको मानिएपछि ग्राहकहरूको विश्वास जित्दै आएको र यसको प्रत्यक्ष प्रभाव व्यापार वृद्धि र वित्तीय मजबूतीमा देखिएको छ। वि.सं. २०५१ साल असोज १४ गते स्थापना भएको मारुति सिमेन्टले स्थापना कालदेखि नै उत्पादनमा गुणस्तर र व्यवस्थापनमा सुधारलाई प्राथमिकता दिएको देखिन्छ। यसको परिणामस्वरूप पछिल्ला केही वर्षमा कम्पनीले निरन्तर सुधारोन्मुख वित्तीय प्रगति हासिल गरेको छ। केयर इक्रा नेपालको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ४ अर्ब ७५ करोड ३० लाख रुपैयाँको व्यापार गर्न सफल भएको छ। यो अघिल्लो वर्षको ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँको आम्दानीभन्दा उल्लेख्य वृद्धि हो। चालु आर्थिक वर्षको नौ महिनामा मात्रै कम्पनीले ३ अर्ब ९८ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ। यो तथ्यले पनि कम्पनीको व्यापारिक गतिको स्थिर वृद्धि दर्शाउँछ।

आर्थिक वृद्धिसँगै कम्पनीको संचालन मुनाफा प्रतिशत (पीबीआईएलडीटी मार्जिन) समेत उल्लेखनीय रुपमा सुधार भएको छ। अघिल्लो वर्ष ९.३८ प्रतिशत रहेको यो सूचक आर्थिक वर्ष २०८०/८१ मा १०.३८ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको नौ महिनामा झनै उल्लेखनीय वृद्धि भई १५.९३ प्रतिशतमा पुगेको छ।

ऋण व्यवस्थापनमा समेत मारुति सिमेन्टले राम्रो सुधार देखाएको छ। कुल ऋण र नगद आर्जन अनुपात २०८०/८१ मा १६.८२ रहेकोमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा घटेर १२.२६ मा झरेको छ। यसले कम्पनीले लिएको ऋणको तुलनामा नगद प्रवाह सन्तोषजनक रहँदै गएको देखाउँछ। यस्तै, कम्पनीको समग्र ऋण–स्वामित्व अनुपात ०.८५ बाट घटेर ०.८१ मा झरेको छ, जसले वित्तीय स्थिरता झनै मजबुत बनाएको छ। कुल दायित्व र मूर्त स्वामित्व सम्पत्तिको अनुपात पनि अघिल्लो वर्षको तुलनामा सुधार हुँदै ०.९६ मा पुगेको छ। ब्याज सेवा क्षमता (इंटरेस्ट कवरेज रेसियो) झन् उल्लेखनीय सुधार देखिन्छ। अघिल्लो वर्ष ३.३६ पटक रहेको यो सूचक २०८०/८१ मा ५.४९ पटक पुगेको छ भने हाल ११.०३ पटक पुगेको छ।

हाल कम्पनीको द्रुत तरलता सूचक (करन्ट रेसियो) केही घटेर १.६६ पटकमा झरेको भएपनि यो अझै सन्तोषजनक अवस्थामा रहेको देखिन्छ।

सिराहा जिल्लाको मिर्चैयास्थित आफ्ना उत्पादन केन्द्रहरूबाट सिमेन्ट उत्पादन गर्दै आएको मारुति सिमेन्टले उत्पादन क्षमतामा समेत निरन्तर विस्तार गर्दै आएको छ। हाल कम्पनीको क्लीन्कर उत्पादन क्षमता दैनिक १५ सय मेट्रिक टन रहेको छ भने ग्राइन्डिङ क्षमता दैनिक २ हजार मेट्रिक टन छ। कम्पनीले हालै ब्राउनफिल्ड विस्तार योजना अन्तर्गत क्लीन्कर उत्पादन क्षमता थप १८ सय मेट्रिक टनले र ग्राइन्डिङ क्षमता २ हजार मेट्रिक टनले विस्तार गर्ने योजना अघि सारेको छ। यो विस्तार पूरा भएपछि उत्पादन क्षमतामा उल्लेख्य वृद्धि हुनेछ, जसले बजार माग अनुसार उत्पादन गर्न सहज हुनेछ।

कम्पनीले १५ वर्षभन्दा बढी समयदेखि सफलतापूर्वक सिमेन्ट उत्पादन गर्दै आएको छ। यस अवधिमा कम्पनीले आफ्नो व्यवस्थापन क्षमता, प्राविधिक दक्षता र उत्पादन गुणस्तरमा निरन्तर सुधार ल्याउँदै ग्राहकहरूको मन जित्दै आएको छ। कम्पनीलाई नेपालका सफल उद्योगपति तथा व्यवसायीहरू नन्दकिशोर राठी अध्यक्ष र सुनील खेड़का प्रबन्ध निर्देशकको नेतृत्वमा राठी समूह र गोयल समूहले सञ्चालन गरिरहेका छन्। यी समूहहरू विभिन्न व्यवसायिक क्षेत्रहरूमा समेत सक्रिय छन्, जसको अनुभव र नेतृत्वले मारुति सिमेन्टलाई थप सबल बनाइरहेको छ।

कम्पनीले नेपालभर आफ्नो उत्पादन वितरण गर्दै आए पनि यसको मुख्य बजार पूर्वी नेपालमा केन्द्रित रहेको छ। विशेषगरी नारायणघाटदेखि काकरभिट्टासम्म र नारायणघाटको उत्तरतर्फ कम्पनीको बजार विस्तार भएको छ। पूर्वी नेपालमा करिब २०० डिलरहरूको सञ्जालमार्फत कम्पनीले आफ्नो व्यापार सशक्त बनाइरहेको छ। यति बलियो वितरण सञ्जालले बजारमा प्रतिस्पर्धी दबाबबीच पनि कम्पनीलाई स्थिरता र व्यापार वृद्धिमा मद्दत पुर्‍याएको देखिएको छ ।

अहिलेसम्म कम्पनीले ‘मारुति’ ब्राण्ड अन्तर्गत ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आएको छ। ओपिसि सिमेन्टले बलियो संरचना निर्माणमा प्रमुख भूमिका खेल्ने हुँदा यसको माग बजारमा उच्च रहँदै आएको छ। यद्यपि, कम्पनीले भविष्यमा उत्पादन दायरा विस्तार गर्दै पिपिसि सिमेन्ट उत्पादन गर्ने योजना बनाइरहेको छ। पिपिसि सिमेन्ट उत्पादन सुरु गरेसँगै कम्पनीको बजार विस्तार र ग्राहक वर्ग थप फराकिलो हुने अपेक्षा गरिएको छ।

कम्पनीसँग झाँकी खोला (कटारी) मा रहेको एउटा चुनढुंगा खानीको खानी अनुमति समेत छ। सो खानीमा करिब १४ करोड मेट्रिक टन चुनढुंगाको अनुमानित भण्डार रहेको छ। यो खानीको कच्चा पदार्थ हाल प्रस्तावित ३,३०० मेट्रिक टन प्रतिदिन क्षमताको क्लीन्कर इकाइलाई ३० वर्षभन्दा बढी समयसम्म सञ्चालन गर्न पर्याप्त रहने आँकलन गरिएको छ। दीर्घकालीन कच्चा पदार्थ आपूर्तिको सुनिश्चितताले कम्पनीलाई उत्पादन निरन्तरता र लागत स्थिरतामा बल दिएको छ।

ग्राहकहरूले मारुति सिमेन्टलाई मुख्यतः यसको गुणस्तर, समयमै आपूर्ति, बलियो डिलर नेटवर्क र विश्वसनीय व्यवस्थापनका कारण रुचाइरहेका छन्। निर्माण कार्यमा सिमेन्टको गुणस्तरले ठूलो भूमिका खेल्ने हुँदा इन्जिनियर, ठेकेदार र उपभोक्ताले गुणस्तरीय उत्पादनमा प्राथमिकता दिन्छन्। यही कारणले मारुति सिमेन्ट बजारमा आफ्नो सशक्त उपस्थिति जमाउन सफल भएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*