मध्यपूर्वमा युद्ध आतंक सकियो, इरान र इजरायलबीच युद्ध विराम सुरु हुँदै

काठमाडौं । धपक्कै बलेका विश्वकै धनी शहरहरु कतारसहितका मध्यपूर्वमा इरानले भिषण मिसाइल हमला गरेको केही घण्टापछि नै सबै स्थिति साम्य भएको छ । इरान र इजरायलबीचको जारी युद्ध अन्त्य गर्न दुवै पक्ष सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच सबै प्रकारको युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन् । इजरायली सञ्चार माध्यमका अनुसार अबको केही घण्टापछि दुवैतर्फको गोलाबारी रोकिनेछ । इरानले भने इजरायलले आक्रमण रोकेको अवस्थामा मात्रै आफूले रोक्ने अन्यथा नरोक्ने स्पष्ट पारिसकेको छ ।
अमेरिकी समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले इरानसँग तत्काल युद्धविराम गर्न भनेका छन् । मध्यपूर्वमा रहेको अमेरिकी एयरबेसहरु सुरक्षा तथा कतार, दुबई, कुवेतसहितका देशहरुले अमेरिकी सेनाका कारण उत्पन्न अप्ठेरोबारे अमेरिका स्पष्ट डिल गरेपछि तत्कालै युद्धविराम सम्भव भएको हो ।
इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गर्नुअघि कतारलाई पूर्व सूचना दिएको थियो । कतारसँग मित्रवत सम्बन्ध रहेको इरानले आफूले कतारमाथि नभई अमेरिकी सैनिक अड्डामाथी आक्रमण गर्न लागेको भन्दै कुटनीतिक सूचना पठाएर आक्रमण गरेको थियो । जसका कारण कतारले एयरस्पेस बन्द गरेर डिफेन्स सिष्टम एक्टिभ गर्न सफल भएको थियो ।
इरान र इजरायलका बीचमा जारी युद्ध १२ औं दिनमा आईपुग्दा युद्धविरामको मोडमा पुगेको हो । आजको युद्ध विरामलाई इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडामा गरेको आक्रमणको नैतिक बलका अगाडि अमेरिकाले नै युद्धविरामको वातावरण बनाउन बाध्य भएको रुपमा हेरिएको छ ।
हिजो राति विकसित घटनाक्रमले तत्कालको लागि मध्यपूर्वमा मडारिएको युद्धको बादल तत्कालको लागि टरेको छ । मध्यपूर्वमा करिब १७ लाख नेपालीहरु कार्यरत रहेका छन् । कतारमा मात्रै करिब साढे चार लाख नेपालीहरु कार्यरत रहेका छन् ।













