खल्तीले ल्यायो ‘स्मार्ट डिपोजिट’ सुविधाः मोबाइलबाटै बचत गर्न सकिने

१० असार २०८२, मंगलवार १२:११

काठमाडौं । नेपालमा पहिलोपटक डिजिटल वालेटमार्फतै रिकरिङ डिपोजिट (आरडी) खाता खोल्न सकिने सुविधा शुरू भएको छ। खल्तीले मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ नामक सेवा सार्वजनिक गरेको हो।

अब खल्ती प्रयोगकर्ताहरूले मोबाइल एपबाटै निश्चित रकम दैनिक, साप्ताहिक वा मासिक रूपमा बचत गर्न सक्नेछन्। बचतको अवधि ६ महिनादेखि ५ वर्षसम्मको विकल्प छ भने न्यूनतम १०० रुपैयाँबाट बचत शुरू गर्न सकिने जनाएको छ।

यस खातामा मञ्जुश्री फाइनान्सले मासिक रूपमा निर्धारण गर्ने ब्याजदर लागु हुनेछ। प्रयोगकर्ताले आफ्नो डिपोजिटको अवस्था खल्ती एपमै हेर्न सक्नेछन् र जम्मा भएको रकम मञ्जुश्री फाइनान्सको खातामा रहनेछ।

खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहालले यो सेवा बचत बानी बसाल्न र डिजिटल पहुँच बढाउन निकै उपयोगी हुने बताए।

मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने यो सहकार्यले बैंक जानु पर्ने झन्झट कम गर्ने र सेवाको पहुँच बढाउने विश्वास व्यक्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*