वित्तीय संस्थाका स्वीकृत कोषहरु खारेज गर्ने निर्णय सच्याउन अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । वित्तीय संस्थाहरुमा भएका स्वीकृत अवकाश कोषहरु खारेज गर्ने सरकारको निर्णय खारेज गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघले उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल समक्ष ध्यानाकर्षण गराएका छन् । सोमबार अर्थमन्त्रालयमा सहभागि भएर वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीहरुले अर्थमन्त्री समक्ष ध्यानाकर्षण गराएका हुन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ लगायतका संगठनले बैंक, बीमा तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पेशागत हकहित तथा सुरक्षाको लागि सामूहिक विषयमा आवश्यक सहकार्य तथा समन्वय गरी अगाडि बढीरहेका छन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८२–२०८३ को बजेट वक्तव्यको बुँदा नं. ३९८ तथा अर्थ बिधेयक २०८२ को बुँदा नं.२३ ले २०८३ असार मसान्त भित्र तोकिएको स्वीकृत कोषमा जानु पर्ने बाध्यात्मक व्यवस्था गरेको निर्णयलाई सच्याएर पुरानै व्यवस्था कायम गर्न भन्दै आन्दोलित बनेका छन् ।
संघका कर्मचारीहरुले यस अघि पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई समेत भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।













