आज चारजनाले गरे हाम फालेर आत्महत्याको प्रयास

काठमाडौं । आज बुधबार मात्रै ४ जनाले आत्महत्या प्रयास गरेका छन्। जसमध्ये दुई जनाले खोलामा हाम फालेका हुन भने दुई जनाले भीरबाट हाम फालेका छन्।
बिहान करीब साढे ६ बजे नुवाकोट घर भएका १८ वर्षीय आयुष बडालले मनोहरा खोलामा हाम फालेका थिए। ललितपुर महानगरपालिका–९ बालकुमारीबाट हाम फालेका उनलाई सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ।
यता धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले बिहानै ९ बजे त्रिशूली नदीमा हाम फालेकी छिन्। उनले छाङगेश्वर मन्दिर नजिकैबाट त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ।
उनलाई भने हालसम्म फेला पार्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ। उनको खोजीमा तालिम प्राप्त सुरक्षा फौजको परिचालन गरिएको जानकारी दिएको छ।
त्यस्तै चितवनमा दुईजना दम्पतीले भीरबाट हाम फालेका छन्। चितवनको राप्ती नगरपालिका–४ चौकीडाँडामा बस्ने ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङले हाम फालेका हुन्।
जसमध्ये श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्। घाइते भएका उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको जानकारी दिएको छ।











