सामान्य प्रशासनमन्त्री गुप्तामाथि ७८ लाख घुस लिएको आरोप, अख्तियार पुग्यो प्रमाण,मन्त्री भन्छन्–मेरो आवाज होइन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको संगिन आरोप लागेको छ । मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवा तथा थमौती र भूमि आयोगको सदस्य बनाईदिने भन्दै व्यापारिक समुहबाट लाखौं रुपैयाँ घुस लिएको आरोपको प्रमाणसहित अख्तियारमा बुझाइएको फेला परेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले भने आफूले घुस नलिएको दावी गरेका छन् । उनले बीमापोष्टसँग भने, ‘मैले लिएको छैन, त्यो मेरो आवाज पनि होइन । मैले पनि भर्खरै हेर्दैछु ।’ मन्त्री गुप्ता पर्सा क्षेत्र नं ३ बाट गत आम निर्वाचनमा एमालेबाट निर्वाचित सांसद समेत हुन् । एमालेकै मन्त्रीले घुस लिएको प्रमाण प्रधानमन्त्री केपी ओली समक्ष पुगेको भएपनि कुनै कारवाही नभएको बताइन्छ ।
हिजो अख्तियारमा दर्ता गरिएको मन्त्री गुप्ताविरुद्धको प्रमाणहरुमा सामान्य प्रशासन मन्त्री गुप्ताले घुस मागेको अडियो समेत रहेको जनाइएको छ । मन्त्री गुप्तालाई दिनको लागि घरजग्गा बिचौलिया तथा व्यापारीहरुले नोटको बिटो राखेर रकम दिएको फोटो समेत खिच्न भ्याएका थिए । सम्झौता बमोजिमको काम नभएपछि अहिले आयोगमा उजुरी परेको हो ।
कास्की जिल्ला मालपोत कार्यालयका प्रमुखसँग तत्काल सरुवा नगर्ने भन्दै ५३ लाख रुपैयाँ घुस मन्त्री गुप्ताकी भतिजी मेलिना गुप्ताले मन्त्री क्वाटरमै घुस बुझेको बताइन्छ । त्यस्तै, सदस्य नियुक्ती गरिदिने भन्दै २५ लाख रुपैयाँ घुस लिएका थिए । आज प्रकाशित आर्थिक दैनिकमा मन्त्री गुप्ताले बुझेको भनिएको घुस रकमको फोटो तथा अडियो समेत युट्युवमा राखेर प्रकाशित गरिएको छ ।
साथै मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाईदिने भन्दै एक व्यापारिक निकट व्यक्तिसँग २५ लाख रुपैयाँ घुस लिएर नियुक्त नगरेको समेत खुलेको छ । प्रमाणसहित अख्तियारमा उजुरी परिसकेको सन्दर्भमा मन्त्री गुप्ताको पद धरापमा परेको छ ।













