हेटौंडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९० करोडको बजेट

११ असार २०८२, बुधबार १२:४८

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न सरकारबाट प्राप्त हुने रकममार्फत खर्च व्यवस्थापन गरिने जनाएको छ।

बजेटको प्रमुख आयस्रोतमा आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ आउने अनुमान गरिएको छ। प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ र संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ समेत बजेट स्रोतमा राखिएको छ।

यस वर्षको बजेटमा उपमहानगरले रोजगारीमूलक तालिम तथा उद्योग प्रवद्र्धनमा विशेष जोड दिएको जनाएको छ। मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गरिने जनाएको छ। यस्ता कार्यक्रमका लागि ९८ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक विकासका लागि पनि विभिन्न योजना अघि सारिएको उपमहानगरले जनाएको छ। अटोभिलेज पूर्वाधार निर्माण (हेटौंडा–११), वाटर फन पार्क (हेटौंडा–१४), गंगा आरती स्थल (हेटौंडा–१०) निर्माणका लागि बजेट छुट्याइएको छ। यस्तै निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

वन, वातावरण तथा विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमका लागि ६ करोड २० लाख ५० हजार रुपैयाँको बजेट छुट्याइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*