बजारमा निराशाः कारोबार रकम समेत खुम्चिदै, किन सुस्त छ मार्केट ?

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा उतार चढाब कायमै रहेको छ । बजार एउटै बिन्दु तिर स्थिर हुँदै गएको देखिएको हो । बजारमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताहरूको मनोबल पूर्ण रूपमा खस्किएको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता र न्यून ब्याजदर जस्ता सकारात्मक पक्षहरू हुँदाहुँदै बजारमा यति ठूलो गिरावट आउनु अर्थहीन देखिएको छ । आम नागरिकले निक्षेपबाट हुने न्यून प्रतिफलका कारण सेयर बजार रोज्दा पनि अहिले उल्टै लगानी गुम्ने डरले व्यापक निराशा फैलिएको छ ।
विगत केही महिनायता अन्य क्षेत्रमा लगानीका अवसर खुम्चिएपछि रियल स्टेट, व्यापार र उत्पादनमा संलग्नहरू समेत शेयर बजारमा आकर्षित भएका थिए । बैंकहरूले समेत धितो कर्जा सहज रूपमा प्रवाह गर्दा खुद्रा र ठूला दुवै लगानीकर्ता बजारमा प्रवेश गरेका थिए । तर, पछिल्लो गिरावटले खासगरी कर्जामा भर परेका लगानीकर्ताहरूलाई डुबाउने स्थिति सिर्जना गरिदिएको छ । नेपाल राष्ट्र बैंकको विवरणले सेयर धितो कर्जा वृद्धि देखाएको छ, जुन बजार झन् घटिरहँदा गम्भीर संकट निम्त्याउने संकेत हो ।
अबको आशा भनेकै आगामी मौद्रिक नीतिमा पुँजी बजारमैत्री उपायहरू ल्याउने हो । तर, यदि नीति निर्माताहरूले फेरि पनि पुँजी बजारप्रति उपेक्षा जारी राखे भने लगानीकर्ताको भरोसा पूर्ण रूपमा समाप्त हुने खतरा बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५५ अकंले बढेर २६०३.०८ बिन्दुमा कायम भएको छ। आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
यसदिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ ।

बुधबार होटल तथा पर्यटन समूहको १.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।












