असार २८ गतेदेखि बीमा कम्पनीहरुमा ‘क्लोजिङ’, कुनै पनि कम्पनीले पोलिसी काट्न नपाउने

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि असार २८ गतेदेखि क्लोजिङको डेट निर्धारण गरिदिएको छ। सो कारण बीमा कम्पनीहरुले असार २८ गते उता कुनै पनि बीमा पोलिसी काट्न नपाउने भएको छन् ।
बीमा प्राधिकरणले आर्थिक वर्षको अन्तिम समयमा कारोबार भद्रगोल हुनसक्ने भन्दै चार दिन अघि नै क्लोजिङ डेट तोकेर नियमन गर्ने निर्णय गरेको हो ।
बीमा कम्पनीहरुले बर्षको अन्तिम महिना अर्थात असारको अन्तिम सातामा ब्याक डेट पोलिसी काट्ने र कारोबार भद्रगोल गर्ने हुँदा बीमा प्राधिकरणले चार दिन अघि नै क्लोजिङ्ग निर्धारण गरिदिएको हो । सो अवधिमा बीमकले कुनै पनि बीमा पोलिसी काट्न पाउने छैनन् ।
प्राधिकरणले एकीकृत सूचना प्रणालीमार्फत बीमकमाथि उक्त समयमा निगरानी राख्ने भएको छ ।
बीमा प्राधिकरणले बीमकलाई एक परिपत्र जारी गर्दै असारको अन्तिम साताको कारोबारमा रोक लगाएको हो ।
सो कारण असार महिनाको २८ गते(शनिबार) पछि बीमा कम्पनीहरुले बीमालेख जारी गर्न नपाउने भएका हुन् ।
असार २९ गतेदेखिको चारदिनको कारोबार यो आर्थिक बर्षको कारोबारको लागि मान्य नहुने प्राधिकरणले जनाएको छ।
एकीकृत सूचना प्रणालीमार्फत बीमा कम्पनीहरुको कारोबारको गतिविधि बीमा प्राधिकरणले हेर्नेछ भने पोलिसी डेटपनि हाइलाइटमा राख्ने भएको छ।
असार मसान्तको समय कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि आफ्नो कुशल व्यवस्थापन प्रमाणित गर्ने अवसर मात्र नभएर बजार विभागका कर्मचारी र शाखा, उपशाखा प्रबन्धकहरुको लागि समेत उत्कृष्ट कार्य सम्पादन गरेर प्रफमेन्स देखाउने अवसर हो ।
वर्षभरीको कामभन्दा यतिबेला बीमकहरुको सक्रियता कारोबार वृद्धिमा बढी हुने गर्दछ । आर्थिक वर्षको अन्त्यमै भए पनि व्यवसायीको लक्ष्य पुरा गरेर आगामी आर्थिक वर्ष भरको लागि बीमा कम्पनीबाट प्राप्त हुने अतिरिक्त लाभ सुनिश्चित गर्न बीमकहरु यतिबेला अहोरात्र खटिएका छन् ।
असार अन्तिममा बीमा कम्पनीहरुको आफनो विजनेस ग्रोथको लागि नियामकिय निर्देशन विपरित विभिन्न फण्डा अपनाउने हुँदा प्राधिकरणले असार अन्तिम अर्थात केलजिङको लागि कडाई गरेको हो । यसअघि पनि क्लोजिङमा बीमा प्राधिकरणले बीमकको अन्तिम साताको कारोबारमा रोक लगाउदै आईरहेको थियो ।













