स्वदेशमै अवसर सिर्जना गरौं, विदेशिनु बाध्यता होइनः चन्द्रप्रसाद ढकाल

११ असार २०८२, बुधबार १७:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै लगानी, रोजगारी र आत्मनिर्भरताको वातावरण तयार गर्नु अपरिहार्य रहेको बताएका छन्।

आइएमई ग्रुपले देशमै पहिलोपटक सुरु गरेको फाइबर सिमेन्ट बोर्ड उत्पादनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, ‘म महासंघको जिम्मेवारी आउँदा अर्थतन्त्र लथालिङ्ग थियो, तर विस्तारै निजी क्षेत्र र सरकारको सहकार्यले अर्थतन्त्र लयमा आएको छ।’

उनले सरकारले ल्याएका नीतिहरूबाट निजी क्षेत्रलाई थप उत्साह मिलेको उल्लेख गर्दै कानुन संशोधनमार्फत लगानी योग्य वातावरण निर्माण भएको बताए। ‘असल सोच र भावनाले लगानी गरे सफल भइन्छ भन्ने मेरो पूर्ण विश्वास रहेको छ ।’ उनले भने।

विदेशिने बाध्यता घटाउन स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। ‘हामी प्रत्येक प्रवेशद्वारलाई पर्यटकीय क्षेत्र बनाउन लागिरहेका छौुं उनले भने, हरेक क्षेत्रमा विकास कार्य गर्नुपर्छ। नेपालमै लगानीको पर्याप्त सम्भावना छ। स्वदेशी लगानीकर्ताले थोरै सहयोग पाए आत्मनिर्भरताको बाटो तय गर्न सकिन्छ।’

अध्यक्ष ढकालले सरकारले आवश्यक समर्थन गरे पूँजीको अभाव नहुने विश्वास व्यक्त गरे। ‘हामी काम गरेरै मन जित्न सक्छौं। विदेशिनेहरूका लागि नेपालमै अवसर तयार गर्नुपर्छ ।’ उनले जोड दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*