काठमाडौंमा बाढीले बगाइरहेको कारबाट महिलाको उद्धार

काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमति खोलाले बगाइरहेको कारबाट एक जना महिलाको उद्धार गरिएको छ ।
गएराति करीब १० बजे टोखा नगरपालिका–६ स्थित ग्रान्डी अस्पताल पछाडिको सडकबाट बा.प्र. ०१–०३१ च ६१४१ नम्बरको कार खोलामा खस्दा त्यसमा सवार महिला फसेकी थिइन्।
कारमा दाङ तुलसीपुर घर भई हाल टोखा बसोबास गर्दै आएकी ३४ वर्षीय भावना ओली फसेकी थिइन् । खोलामा खसेपछि कार बग्दै बानियाटार पुलसम्म पुगेको थियो ।
शुक्लाफाँट नगरपालिका–१ कञ्चनपुर घर भई हाल धुम्बाराही बस्ने कार चालक ३५ वर्षीय अंकुश सिंह भने समयमै कारबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए।
वर्षाका कारण विष्णुमति खोलामा पानीको बहाव तीव्र भएको बेला कार साइड दिने क्रममा सडकको भाग भासिएर खोलामा पुगेको प्रहरीले जनाएको छ।
यात्रुसहितको कार बगेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट ४५ जनाको टोली परिचालन गरिएको थियो । बानियाटार पुलमा अड्किएको अवस्थामा फेला परेको कारबाट भावना ओलीलाई उद्धार गरेर तत्काल ग्रीन सिटी अस्पताल र्पुयाइएको प्रहरीले जनाएको छ ।
खोलामा फसेको कार राति नै क्रेनको सहयोगमा निकालेको प्रहरीले जानकारी दिएको छ।











