‘मलको हाहाकार हुन्छ’ कृषि मन्त्रीको अभिव्यक्तिः जवाफदेहीको साटो गैरजिम्मेवार चरित्र

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको पछिल्लो अभिव्यक्ति देशको कृषक समुदायप्रति सरकारको उपेक्षात्मक दृष्टिकोण र उदासिन चरित्रको ज्वलन्त प्रमाण बनेको छ। नेपाल डेरी एसोसिएशनद्वारा आयोजित दही–चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ’ भन्ने प्रकारको अभिव्यक्ति दिँदै आफूले विगतको नतिजामाथि क्षमा माग्नुको साटो निराशा बाँडे।
यसरी सत्तामा बसेको जिम्मेवार व्यक्तिबाट मुलुकको कृषि संकटलाई नियति ठान्न आग्रह गर्नु गम्भीर लापरवाही हो।मन्त्रीको यो भनाइले राज्यको तर्फबाट कृषकहरूलाई सहज मल उपलब्ध गराउने दायित्व पूरा गर्ने इच्छाशक्ति सरकारसँग नभएको प्रष्ट हुन्छ । मन्त्रीको भनाइ अनुसार गत वर्ष २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन हुँदासमेत जम्मा ४ लाख ५० हजार टन मल मात्र ल्याइएको हो, जुन बजारको वार्षिक माग ११ लाखदेखि १३ लाख टनको तुलनामा अत्यन्तै न्यून हो। अर्थात्, चौथाइ मात्र मल आपूर्ति गरेर पनि मन्त्रीले आफूले सक्ने जस्तो गरिरहेको ढोंग देखाउन खोजेका छन्। यस्तो बेलामा मल आपूर्तिको व्यवस्थापन गर्नुपर्ने मन्त्रालयको भूमिकामा बसेर मन्त्रीले समाधान होइन, सन्देह र निराशा छर्ने काम गरेका छन्।
यसबाहेक, मन्त्री अधिकारीले डेरी किसानप्रति पनि सरकारको दायित्व नबुझ्ने संकेत दिएका छन्। उनले आफूहरूले किसानको दूधको भुक्तानी वर्षौंदेखि दिन नसकेको भन्दै खुलेआम स्वीकार गरेका छन्। यस्तो अवस्था हुँदा पनि किसानले पालिरहेको एउटा गाई वा भैँसीको दुःख बुझेर राहत दिनुको साटो, मन्त्रीज्यू सार्वजनिक कार्यक्रममा भाषणमा मात्र सीमित रहनु उनको आत्मकेन्द्रित चरित्रको संकेत हो।
कृषकको पसिनाको मूल्य उठाउन नसक्ने, न्यूनतम मल वितरणको व्यवस्थापन गर्न नसक्ने, दूधको भुक्तानी समयमै गर्न नसक्ने र त्यसको जिम्मेवारी लिनुको साटो ‘हाहाकार त भइरहन्छ’ भनेर सामान्यकरण गर्ने मन्त्रीको प्रवृत्तिले नेपालको कृषि नीति कहाँनेर थला परिरहेको छ भन्ने देखिन्छ। यस्तो गैरजिम्मेवार अभिव्यक्तिले देशभरिका कृषकको मनमा असन्तोष फैलिनु स्वाभाविक हो।
सत्ता र स्रोतसाधन भएका मन्त्रीबाट यस्तो उदाशिन र असंवेदनशील व्यवहार देखिनु स्वयं सरकारकै नीतिगत असफलताको परिचायक हो। मन्त्रालयले वर्षौंदेखि ढुवानी प्रक्रिया पारदर्शी बनाउन सकेन, मल खरिदमा समयमा टेण्डर गर्न सकेन, सहकार्य गर्ने निकायहरूसँग रणनीतिक तालमेल मिलाउन सकेन। यस्तो सम्पूर्ण असफलताको बागडोर सम्हालिरहेका मन्त्री अधिकारीले उल्टै ‘हाहाकार हुन्छ’ भनेर पूर्वसन्ध्यामा आफूलाई निष्कलंक देखाउने प्रयास गर्नु नै गैरजिम्मेवारीको चरम नमुना हो।













