हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ।
यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणमा निष्कासन गरिरहेको छ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीका लागि छुट्याइएको आईपीओमा भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ।
यसमा मागभन्दा बढी मात्रामा आवेदन परिसकेकाले आज बैंकिङ्ग समयपछि आवेदन स्वीकृत गर्ने काम बन्द गरिने कम्पनीले जानकारी दिएको छ। आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
स्थानिय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितले आवेदनका लागि दरखास्त फाराम बापत २ रूपैयाँ तिर्नु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ।












