सुनचाँदी व्यवसायीको आक्रोशः करको विरोधमा न्यूरोड क्षेत्र ठप्प, सवारी आवागमन प्रभावित

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा लगाएको अतिरिक्त करको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका छन् । शुक्रबार बिहानदेखि राजधानीको प्रमुख व्यावसायिक क्षेत्र न्यूरोड ठप्प पारिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा व्यवसाय बन्द गर्दै व्यापक प्रदर्शन सुरु गरिएको हो । सरकारले बजेटमा सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन् ।
पहिले सरकारसँग सहमति भइसकेको भन्दै आन्दोलन केही समयका लागि रोकिएको थियो । तर, संसद्मा बजेट पारित हुने क्रममा उनीहरूको माग बेवास्ता भएको भन्दै व्यवसायीहरूले शुक्रबारदेखि अनिश्चितकालका लागि व्यापार ठप्प पार्ने निर्णय गरेका छन् ।
विरोध स्वरूप व्यवसायीहरूले संयुक्त रूपमा र्याली निकालेका छन्, जसले गर्दा न्यूरोड क्षेत्रमा सवारी साधन प्रवेश गर्न सकेका छैनन् । अधिकांश पसलहरू पनि बन्द गरिएका छन् ।













