टेस्लामा नेतृत्व संकट: एलोन मस्कका विश्वासपात्र अफशारले दिए राजीनामा, माग घट्दो क्रममा

१३ असार २०८२, शुक्रबार १६:००

काठमाडौँ ।  अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कार्यकारी तथा एलोन मस्कका पुराना विश्वासपात्र ओमिद अफशारले कम्पनी छाडेका छन्। टेस्लामा घट्दो विश्वव्यापी मागबीच पछिल्लो समयमा नेतृत्व तहमा देखिएको श्रृंखलाबद्ध बिदाइको यो अर्को कडी बनेको हो।

सन् २०१७ मा टेस्लामा प्रवेश गरेका अफशार हालसम्म मस्कको निकटतम सर्कलमा रहँदै आएका थिए। उनी प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा कार्यरत थिए र सन् २०२३ देखि युरोप तथा उत्तर अमेरिकामा बिक्री र निर्माणको नेतृत्व सम्हालिरहेका थिए। उनले टेक्सासस्थित गिगाफ्याक्ट्रीजस्ता परियोजनामा महत्वपूर्ण भूमिका खेलेका थिए।

अफशारको बिदाइको पृष्ठभूमिमा युरोप र उत्तर अमेरिकामा टेस्लाको पुरानो भइसकेको मोडललाइनप्रतिको घट्दो माग रहेको छ। प्रतिस्पर्धी कम्पनीहरूले सस्तो विकल्प ल्याएका छन्, जसका कारण टेस्लाको बजारमा दबाव बढेको छ।

मस्क वाशिंगटन केन्द्रित भइरहँदा अफशारले कम्पनीभित्र थप जिम्मेवारी सम्हालेका थिए।

गत १४ महिनायता टेस्लाबाट धेरैजसो वरिष्ठ कर्मचारीले बिदाइ लिइसकेका छन्। कम्पनीले कर्मचारी कटौतीसहित संरचनागत पुनर्संरचना थालेपछि यस्ता बिदाइहरू भएको हो। टेस्लाले अहिले एआई प्रविधिमा आधारित स्वचालित गाडी र रोबोटिक्सलाई प्राथमिकतामा राखेको छ।

हालै टेस्लाको ह्युमनाइड रोबोट टिम ‘अप्टिमस’का प्रमुख मिलान कोभाक, ब्याट्री प्रविधिका वरिष्ठ कार्यकारी विनीट मेहता, प्रमुख ब्याट्री इन्जिनियर ड्र्यु बाग्लिनो, सुपरचार्जिङ विभाग प्रमुख रेबेका टिनुचि तथा विश्वव्यापी सार्वजनिक नीति प्रमुख रोहन पटेलले कम्पनी छाडिसकेका छन्।

मस्कले मे महिनाको अन्त्यमा आफ्नो वाशिंगटन अभियान अन्त्य गरेपछि केही लगानीकर्ता ढुक्क भए पनि टेस्लाको शेयर मूल्य यस वर्ष १९ प्रतिशतले घटिसकेको छ। ट्रम्पको सम्भावित विजयबाट रोबोट्याक्सीको नियामकीय मार्ग सहज हुने आशामा केही समय कम्पनीको शेयर मूल्य बढेको थियो।

टेक्सासको अष्टिनमा गत आइतबार टेस्लाले स्वचालित ट्याक्सी (रोबोट्याक्सी) सेवा सार्वजनिक गरेको थियो। विश्लेषकहरूले आगामी दिनमा अन्य सहरमा विस्तार गर्दा प्रविधि तथा सुरक्षा सम्बन्धी चुनौतीहरू आउन सक्ने चेतावनी दिएका छन्।

सोमबार अफशारले एक्समार्फत अष्टिनको रोबोट्याक्सी सुरुआतलाई टेस्लाका लागि ऐतिहासिक दिन भन्दै एलोन मस्कलाई धन्यवाद दिएका थिए। उनले लेखेका थिए, ;’धन्यवाद एलोन, हामी सबैलाई अगाडि बढाउने प्रेरणाका लागि!’

सन् २०१८ मा टेस्लाको मोडल ३ को उत्पादन तीव्र भइरहँदा अफशारले मस्कसँग राति-राति कारखानामा काम गरेको स्मरण गर्दै मार्चमा ‘२४/७ जीवन’ बिताएको उल्लेख गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*