ग्लोबल आइएमई बैंकद्वारा हाटबजारको २५औँ हप्ता र एलएसएमई दिवस सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता विशेष उत्सवसहित भव्य रूपमा सम्पन्न गरेको छ। बैंकले साना तथा मझौला उद्यमीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले सञ्चालन गर्दै आएको हाटबजार यसपटक २५औँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा बैंकले आफूले लगानी गरेका लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा सहजीकरण गर्ने हेतुले मेलाको आयोजना गरेको थियो। उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले प्रत्येक शुक्रबार काठमाडौंको कमलादीस्थित शाखामा हाटबजार सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले नेपालको समग्र आर्थिक समृद्धिमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले हाटबजारले यस्ता व्यवसायहरूको प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
“हाटबजारले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान दिइरहेका उद्यमीहरूलाई बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउन सहयोग गरिरहेको छ,” रेग्मीले बताउनुभयो। उहाँका अनुसार हाटबजार अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत सघाउ पुर्याइरहेको छ।
उक्त मेलामा विषादी रहित कृषि उपज, रैथाने बालीका उत्पादन, हस्तकला सामग्री, सजावटका बिरुवालगायत दुई दर्जनभन्दा बढी कृषक र व्यवसायीका सामग्रीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो।
बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी समयअनुकूल विभिन्न योजनाहरू सार्वजनिक गर्दै सेवा विस्तार गरिरहेको छ। ग्लोबल आइएमई बैंकले सन् २०२४ मा ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ र युरोमनी अवार्ड फर एक्सलेन्स अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गर्न सफल भएको छ। यस्तै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट पनि प्रशंसा तथा सम्मान प्राप्त गरिसकेको छ।
हाल ग्लोबल आइएमई बैंक मुलुकभर ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गर्न सफल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई समेत समावेश गर्दै देशविदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।












