काठमाडौंको मुटुमा उभिएको स्काइवाक तेस्रो वर्षमा, तीन महिनासम्म निःशुल्क कप अफर

काठमाडौं । राजधानीको कमलादीस्थित स्काइवाक काठमाडौंले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदै विशेष अफर र कार्यक्रमसहित नयाँ चरणमा पाइला टेकेको छ। वन्डर्स नेपाल प्रालिको लगानीमा निर्माण भएको यो संरचना नेपालमा आधुनिक शहरी साहसिक पर्यटनको प्रतीक बनेको छ। राजधानीको मुटुमा ७८ दशमलव ५ मिटर उचाइको टावर निर्माण गरी त्यसको २५औँ तलामा सिसाले ओछ्याइएको ‘स्काइवाक’ बाट काठमाडौंको ३६० डिग्री दृश्य हेर्न सकिने अनुभवले तीन वर्षको छोटो समयमै हजारौँ पर्यटक तान्न सफल भएको छ।
‘धरहराभन्दा १६ मिटर अग्लो’ भन्ने परिचयसहित खुलेको स्काइवाक हाल काठमाडौं उपत्यकामा सबभन्दा उचो सार्वजनिक अवलोकन टावर हो। सुरुवातमै कोरोनाका कारणले केही समय परियोजना अलपत्र परे पनि खोलिएलगत्तै यो टावर काठमाडौंको नयाँ पर्यटकीय गन्तव्यको रूपमा छिट्टै स्थापित भयो।
तेस्रो वर्ष प्रवेशको अवसरमा स्काइवाकले अवलोकनमा आउने पाहुनाहरूका लागि विशेष योजना सार्वजनिक गरेको छ। अब आगन्तुकले आफ्नो भ्रमणको सम्झनाका रूपमा आफूले खिचाएको फोटो प्रिन्ट गरिएको कप निःशुल्क पाउनेछन्। स्काइवाकका अध्यक्ष तेजबहादुर सिंहका अनुसार छुट सुविधा नलिएकाहरूले मात्र यो सुविधा पाउनेछन् भने यो अफर तीन महिनासम्म लागू हुनेछ।
सुरुवातदेखि नै नविन शैलीको आकर्षण बोक्न सफल स्काइवाक टावर १३ रोपनी क्षेत्रफलमा फैलिएको छ। यसमा स्टिल र सिसा प्रयोग गरी अत्याधुनिक प्रविधिको सहायताले निर्माण गरिएको हो। सिसा प्लेटफर्म बनाउँदा ३५ मिटर जमिन मुनि ५८ वटा फलामका डण्डी गाडेर टावरको जडान गरिएको छ, जसले यसलाई भूकम्प तथा अन्य संरचनात्मक चुनौतीहरूसँग जुध्न सक्षम बनाउँछ। यहाँ प्रयोग गरिएको सिसा प्रति वर्गमिटर ५०० किलो तौल सहन सक्ने क्षमताको छ, जुन अन्तर्राष्ट्रिय स्तरमा उच्च गुणस्तरको मानिन्छ।
टावरको शीर्षमा एकै पटक ५०० जनासम्म अट्न सक्ने अवलोकन प्लेटफर्म छ। त्यहाँ जान दुई वटा विद्युतीय लिफ्टको सुविधा छ, जसले एकै पटक ४५ जना पर्यटकलाई माथि पुर्याउन सक्छ। २५औं तलामा रहेको सिसा ओछ्याइएको स्काइवाकमा हिँड्दा ‘आकाशमै उभिएको’ जस्तो अनुभव हुन्छ। टावरको वरिपरि र स्काइवाकबाट काठमाडौं उपत्यकाका प्रमुख ऐतिहासिक, प्रशासनिक र सांस्कृतिक स्थलहरू स्पष्ट रूपमा देखिन्छन्। दरबार हाईस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबार, रानीपोखरी, त्रिचन्द्र क्याम्पसलगायतको दृश्यावलोकन यस ठाउँबाट सहजै गर्न सकिन्छ।
केवल मनोरञ्जन वा साहसिक क्रियाकलाप मात्र होइन स्काइवाकले सांस्कृतिक जानकारी दिने दृष्टिकोणबाट पनि आफूलाई पृथक बनाएको छ। यसको माथिल्लो तलामा पुगेपछि काठमाडौंको शहरी रूपान्तरण, पुरातात्त्विक महत्त्व र सांस्कृतिक विविधता प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। त्यही कारण स्काइवाक स्कुल, कलेज, विश्वविद्यालयका विद्यार्थीहरूका लागि पनि अध्ययन भ्रमणको नयाँ गन्तव्य बन्न थालेको छ।
कम्पनीले सुरुदेखि नै यसलाई धरहरा विकल्प नभई पृथक अवधारणामा बनेको आधुनिक टावरको रूपमा प्रस्तुत गर्दै आएको छ। भौतिक संरचना मात्र होइन स्काइवाक परिसरभित्र विभिन्न सेवा-सुविधाहरू उपलब्ध छन्। टावरभित्र लक्ष्मी हेयर एण्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिलि चिया, बुरितो, एभरेस्ट म:म:, स्काइ क्याफे, स्काइ बारलगायत सुविधा सञ्चालनमा छन्। स्काइ क्लब भने निर्माणको अन्तिम चरणमा पुगेको छ। यस्ता सुविधा हुँदा यहाँ केवल अवलोकन मात्र होइन खानपिन, आराम र भेटघाटको केन्द्रको रूपमा समेत विकास भइरहेको छ। विशेषगरी साँझपख स्काइ बारमा संगीतसँगै सूर्यास्तको दृश्यले वातावरण रोमाञ्चक बनाउँछ।
यसले काठमाडौंको परम्परागत घुम्नेजस्ता स्थानहरूमाझ नयाँ स्वाद भरेको छ। ललितपुरको पुल्चोकदेखि धरहरासम्मको घुमफिरको सन्दर्भमा स्काइवाक अब ‘मस्ट गो’ सूचीमा परेको छ। यहाँको टिकट दर पनि व्यावसायिक हिसाबले सन्तुलित मानिन्छ। हाल स्काइवाक प्रवेशको लागि नेपाली नागरिकका लागि सामान्य टिकट दर १००० रुपैयाँ तोकिएको छ। ७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ५०० रुपैयाँमा टिकट पाउने छन् भने ८० वर्ष नाघेका तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क प्रवेश दिइन्छ।
सुर्योदय र सूर्यास्तको दृश्य हेर्न चाहनेहरूका लागि स्काइवाक एक आदर्श गन्तव्य बन्दै गएको छ। यसको माथिल्लो तलाबाट मौसम सफा हुँदा हिमशृंखलाहरूको दृश्य पनि देखिने दाबी कम्पनीले गरेको छ। साथै, यहाँ बिहानको समयमा योग अभ्यास गर्नेहरूका लागि पनि अनुकूल वातावरण बनाइएको छ।
यसको भविष्य योजना पनि महत्त्वाकांक्षी देखिन्छ। कम्पनीले इन-सीटी बन्जी जम्प, कृत्रिम चट्टान आरोहण, किड्स जोन, स्काइवाक म्युजियम, प्रदर्शनी हलजस्ता थप परियोजनाहरू अघि बढाउने योजना सार्वजनिक गरिसकेको छ। स्काइवाक परिसरभित्र एआर–भीआर प्रविधिको प्रयोग गरेर ‘काठमाडौँको इतिहास’ प्रस्तुत गर्ने नयाँ कार्यक्रमको तयारी पनि भइरहेको छ।
आजको दिनमा स्काइवाक काठमाडौं अब केवल एक टावर होइन, सहरका मानिसहरूको सपना हेर्ने ठाउँ, विदेशबाट आएकाहरूको अवलोकन केन्द्र र सामाजिक सञ्जालमा ‘आइकनिक पोस्ट’ बनाउने केन्द्र बनेको छ।













