जीवन बीमकको व्यवसाय १५%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, राष्ट्रिय जीवन बीमा र रिलायबलको आकर्षक ग्रोथ

१५ असार २०८२, आईतवार १५:५०

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ५४ अर्ब पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको व्यवसाय १५.२९ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिमा एक खर्ब ३३ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र रिलायबल नेपाल लाइफको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले ४१ अर्ब दुई करोड ४४ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ । कम्पनीको व्यवसा गत आवको तुलनामा १५.३५ प्रतिशतले बृद्धि भएको छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १८.३० प्रतिशतले बढेर १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा १५ अर्ब ९८ करोड तीन लाख रुपैयाँ आर्जन गरेको थियो ।

व्यवसायको आधारमा तेस्रो स्थानमा रहेको एलआइसी नेपालको व्यवसाय ८.४७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको कुल बीमा शूल्क आर्जन ३.९७ प्रतिशतले बढेर १५ अर्ब २२ करोड २० लाख रुपैयाँ रहेको छ ।

व्यवसाय बृद्धिका आधारमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स पनि व्यवसायमा आक्रामक बन्दै गएको छ । समीक्षा अवधिमा कम्पनीको व्यवसाय १८.१३ प्रतिशतले बढेर नौ अर्ब ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन नौ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसको व्यवसा गत आवको तुलनामा ५१.२० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

एशियन लाइफको व्यवसाय ११.८८ प्रतिशतले बढेर सात अर्ब ८६ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफको १९.५८ प्रतिशतले बढेर ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १०.८० प्रतिशतले बढेर पाँच अर्ब ९० करोड २९ लाख रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफ व्यवसाय वृद्धिमा आक्रामक देखिएको छ । कम्पनीको व्यवसा गत आवको तुलनामा २३.३८ प्रतिशतले बृद्धि भएर चार अर्ब ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*