शिक्षामा चम्कियो भक्तपुर नगरपालिका: एसईईमा ८९.८८ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौँ । देशभर शिक्षाको गुणस्तर खस्किएको आवाज तीव्र भइरहेका बेला भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरुले भने उदाहरणीय सफलता हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नगरपालिकाको शिक्षामा आएको सुधारलाई स्पष्ट रूपमा देखाएको हो ।
यस वर्ष नगरपालिकाका २ हजार १६६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमा ८९.८८ प्रतिशत अर्थात् १ हजार ९४४ जना विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । सार्वजनिक विद्यालयतर्फबाट सहभागी ८४३ विद्यार्थीमध्ये ६८२ जना उत्तीर्ण भई ८०.९० प्रतिशतको नतिजा ल्याउन सफल भएका छन् भने संस्थागत विद्यालयका १ हजार ५६५ मध्ये १ हजार ४८४ विद्यार्थी उत्तीर्ण भई ९४.७० प्रतिशत नतिजा ल्याएका छन् ।
शिक्षाको क्षेत्रमा यति उल्लेखनीय सुधार देखिनुमा नगरपालिकाको नेतृत्वले देखाएको प्रतिबद्धता महत्वपूर्ण मानिन्छ । नगरप्रमुख सुनिल प्रजावति र उपप्रमुख रजनी जोशीको सक्रियता, योजनाबद्ध कार्यक्रम, शिक्षा शाखाको समन्वय, विद्यालय व्यवस्थापन समितिको भूमिकालगायतका तत्वहरुले समग्र नतिजालाई उच्च बनाएको देखिन्छ । विगतका वर्षहरुमा पनि सुधारको क्रम देखिँदै आएको भए पनि यसपालि सार्वजनिक विद्यालयहरुको पनि नतिजा उल्लेख्य रूपमा उक्लिनु शिक्षा क्षेत्रमा देखिएको नीतिगत सफलताको प्रमाण हो ।
यसपालि भक्तपुर नगरपालिकाभित्र सञ्चालित ६ वटा विद्यालयका १३ जना विद्यार्थीहरुले ४ जिपिए ल्याएर विशिष्ट सफलता हासिल गरेका छन् । तीमध्ये मेधा माध्यमिक विद्यालयबाट ३ जना, सेक्रेड हार्ट इ. सेकेन्डरी स्कूलबाट १ जना, लर्नर्स एकेडेमीबाट २ जना, सैनिक आवासीय महाविद्यालयबाट ३ जना, एभरेष्ट इ. स्कूलबाट ३ जना र जेन्युइन सेकेन्डरी स्कूलबाट १ जना रहेका छन् । ३.६० देखि ४ जिपिएसम्म ल्याउने विशिष्ट श्रेणीका विद्यार्थीको संख्या ७७२ रहेको छ भने ३.२० देखि ३.६० जिपिए ल्याउने ८ सय, २.८० देखि ३.२० ल्याउने ४ सय ८७ जना, २.४० देखि २.८० ल्याउने १०१ जना, २ देखि २.४० ल्याउने ६ जना र २ जिपिएभन्दा कम ल्याउने २४४ जना परीक्षार्थी रहेका छन् ।
स्थानीय सरकारको पहलमा सार्वजनिक विद्यालयको गुणस्तर सुध्रँदै गएको संकेत यस नतिजाले दिएको छ । विगतमा निजी विद्यालयभन्दा निकै पछाडि परेका सरकारी विद्यालयहरु अहिले प्रतिस्पर्धामा आउन थालेका छन् । जनप्रतिनिधिहरुको सक्रियता, शिक्षामा लगानीलाई प्राथमिकता दिने नीति, शिक्षकको नियमित मूल्यांकन, अतिरिक्त कक्षा सञ्चालन, अभिभावकसँगको समन्वयजस्ता पक्षहरुले भक्तपुर नगरपालिकालाई शैक्षिक क्षेत्रको अग्रपङ्तिमा उभ्याएको छ ।
देशभरका अन्य स्थानीय तहहरुका लागि भक्तपुर नगरपालिका एउटा प्रेरणादायी नमूना बन्न पुगेको छ ।













