देशभर साताभरी पानी पर्ने, १२ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर सक्रिय भएको मनसुनका कारण आइतबारदेखि वर्षा थप बढेको छ। जल तथा मौसम विज्ञान विभागले साताभर लगातार पानी पर्ने पूर्वानुमान गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले अबका दिनहरूमा भीषण र अति भीषण वर्षा दोहोरिने सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार रातिदेखि स्याउलीवाङ, हनुमानगढी, गढवा, कैलाली लगायत स्थानमा भीषण वर्षा मापन भइसकेको विभागको तथ्यांकले देखाएको छ।
न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतर्फ सर्दै गएकाले बुधबारपछि बागमती, कोशी र मधेश प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १२ जिल्लामा उच्च सतर्कता अपनाउन अपिल गरेको छ। प्राधिकरणले बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा उच्च सतकर्ता अपनाउन भनेको हो।
प्राधिकरणले अत्यावश्यक बाहेक यात्रा नगर्न, नदी किनार र डुबान सम्भावित क्षेत्रका नागरिकलाई अझ विशेष सावधानी अपनाउन आग्रह गरेको छ।













