सुदूरपश्चिममा अविरल वर्षा : कैलाली डुबानमा, नदीको जलस्तर खतरामा

१६ असार २०८२, सोमबार १०:१४

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा आइतबार बिहानैदेखि लगातार वर्षा जारी छ। पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दो छ भने तराईका बस्तीहरू डुबानमा परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा विशेष गरी तीव्र वर्षा भइरहेको छ, जसका कारण मोहना नदीमा पानीको बहाव उच्च देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान ७:३० बजे मोहना नदीको जलस्तर ३.०६ मिटर पुगेको छ, जुन सतर्कता तहभन्दा माथि हो।

बाढीको जोखिमलाई ध्यानमा राख्दै विभागले नदी किनारका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। स्थानीयहरूलाई मोबाइलमार्फत सन्देश पठाएर सावधानी अपनाउन आग्रह गरिएको छ।

विभागले दिएको पछिल्लो पूर्वानुमानअनुसार मनसुनी प्रणाली देशभर क्रियाशील रहेकाले आज पनि सुदूरपश्चिमका अधिकांश ठाउँमा चट्याङ र गडगडाहटसहित हल्का वा मध्यम वर्षा जारी रहनेछ।

त्यसैगरी, प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताइएको छ। यसले गर्दा पहाडी भूभागमा भू–स्खलन तथा तराई क्षेत्रमा अझ बढी डुबानको जोखिम थपिएको छ।

कैलालीको दर्जनौं स्थानमा बाढी पस्दा स्थानीय बासिन्दाको दैनिकी प्रभावित भएको छ। केही स्थानमा सडक अवरुद्ध छन् भने खेतीयोग्य जमिन जलमग्न भएका छन्।

सुरक्षा निकाय तथा स्थानीय तहहरूले आपत्कालीन सतर्कता अपनाउँदै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी थालेका छन्।

वर्षा अझै केही समय कायम रहने देखिएकाले नागरिकलाई अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*