एक महीनामै साढे ११ प्रतिशतले बढ्यो कुल बीमाशुल्क आर्जन

काठमाडौं । हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन एक महीनाको अवधिमै करीब साढे ११ प्रतिशतले वृद्धि भएको छ।
नेपाल बीमा प्राधिकरणले हिजै मात्र सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको मासिक तथ्यांकले वैशाख महीनाको तुलनामा जेठ महीनामा कुल बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले वृद्धि भएको देखाएको हो।
कम्पनीहरूले वैशाख महिनामा मात्रै १३ अर्ब १८ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा जेठमा वृद्धि भएर १४ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ।

जेठ महीनामा सर्वाधिक नेपाल लाइफले ४ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ, नेशनल लाइफले १ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, एलआईसी नेपालले १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ र हिमालयन लाइफले १ अर्ब ४२ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यसपछि क्रमैसँग सूर्यज्योति, एशियन, सिटिजन, सानिमा रिलायन्स, मेट, आइएमई, प्रभु महालक्ष्मी, रिलाबयल नेपाल, राष्ट्रिय जीवन बीमा र सन नेपाल लाइफ रहेका छन्।
वृद्धिदरको आधारमा
वैशाख महीनाको तुलनामा जेठमा ११ वटा कम्पनीको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ भने ३ वटा कम्पनीको भने घट्न पुगेको छ।
वृद्धिदरमा आईएमई लाइफको सर्वाधिक २७.०७ प्रतिशत, नेपाल लाइफको २४.१२ प्रतिशत, हिमालयन लाइफको १९.३१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १५.०२ प्रतिशतले अगाडी रहेको छ।

त्यसपछि क्रमैसँग नेशनल, सिटिजन, एलआईसी नेपाल, एशियन, सूर्यज्योति, प्रभु महालक्ष्मी र मेट लाइफको कुल बीमाशुल्क आर्जन वृद्धि भएको छ। यता सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको भने वैशाखको तुलनामा जेठमा कुल बीमाशुल्क आर्जन घटेको तथ्यांकले देखाएको छ।













